देश/प्रदेश

पर्वतारोहण क्षेत्रका श्रमिकका लागि मानसिक स्वास्थ्य तालीम

Banner

 

काठमाडौँ,चैत १३ –

पर्वतारोहण क्षेत्रमा कार्यरत नेपाली श्रमिकका लागि मानसिक स्वास्थ्यसम्बन्धी विशेष तालीम सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभाग, महिला तथा युवा विभाग र स्वास्थ्य समितिको संयुक्त समन्वयमा सञ्चालन भएको उक्त तालीममा पर्वतारोहण सङ्घ सम्बद्ध ३९ जनाले सहभागिता जनाएका छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा सङ्घका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा बद्री केसीले कोभिड–१९ का कारणले मानसिक समस्याले गर्दा वैैदेशिक रोजगारलगायत क्षेत्रमा कार्यरत श्रमिकलाई नकारात्मक असर पारेको पाइएको बताउनुभयो । विशेष गरेर पर्वतारोहण सङ्घसँगको सहकार्यमा साहसिक नेपाली पर्वतारोही श्रमिक तथा पर्वतारोहण क्षेत्रका अन्य व्यक्तिका लागि यो तालीमले व्यक्तिगतरुपमा मात्रै नभई उसको परिवार तथा समाजलाईसमेत फाइदा पुगिरहेको डा केसीको भनाइ थियो ।

सङ्घले कोभिड–१९ का कारणले प्रभावित नेपाली श्रमिकलाई विभिन्न गन्तव्य देशमा र नेपाल फर्केपछि पनि राहत तथा उद्धारका लागि सहयोग पु¥याएको जानकारी गराउनुभयो । यस्तै सङ्घका अर्का उपाध्यक्ष एवं महिला तथा युवा विभाग संयोजक रविना थापाले कोरोनाले सबै क्षेत्रमा आर्थिक एवं सामाजिकरुपमा समेत असर परेको र पर्वतारोहण एवं टेकिङ व्यवसायमा समेत असर परेको बताउनुभयो ।

तालीमले सो क्षेत्रमा संलग्न व्यक्तिलाई सहयोग पुग्ने थापाले बताउनुभयो । मानसिक स्वास्थ्यका सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण हुनुपर्ने उहाँको भनाइ थियो । यस्तै सङ्घका स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले सङ्घले टेलिहेल्थका माध्यमबाट देशविदेशमा रहेका नेपालीलाई सहयोग पु¥याउनका लागि पहल गरिरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले गैरआवासीय नेपाली सङ्घ र नेपाल पर्वतारोहण सङ्घको सहकार्यमा यस्ता किसिमका कार्यक्रम गर्दै जाने बताउनुभयो । प्रसिद्ध साहसी पर्वतारोही माया गुरुङ तथा अन्य यस क्षेत्रसँग सम्बन्धित सबै सहभागीले तालीम अत्यन्त फलदायी रहेको र आगामी दिनमा पनि सङ्घबाट यस प्रकारको सहयोगको अपेक्षा राखेको धारणा राखेका थिए । तालीम कार्यक्रममा डा विजय ज्ञवाली तथा माधव खतिवडाले मानसिक स्वास्थ्य, तनाव एवं आत्महत्या रोकथाम जस्ता विषयमा प्रशिक्षण गराउनुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>