देश/प्रदेश

श्रीकोटमा स्वास्थ्य सेवा सहज

Banner

बैतडी, फागुन २९-

बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित स्वास्थ्यचौकीमा एमबिबिएस डाक्टरले सेवा दिँदा बिरामीलाई सहज भएको छ । कोभिड अस्थायी अस्पताल स्थापना भएपछि गत पुस २० गतेदेखि यहाँ एमबिबिएस डाक्टर कुमार कार्की आउनुभएको छ ।

कोरोनाका जटिल बिरामीको स्थानीयस्तरमै उपचार गर्न अस्थायी अस्पताल स्थापना गरिएको थियो तर कोरोनाका जटिल बिरामी नआउँदा डाक्टर कार्कीले हाल श्रीकोट स्वास्थ्यचौकीमा बसेर परामर्श तथा सेवा दिइरहनुभएको छ । डाक्टरले सेवा दिन थालेपछि सेवाग्राहीको सङ्ख्या पनि बढेको सो स्वास्थ्यचौकीका इञ्चार्ज वीरसिंह भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिला औसतमा दैनिक १० जना आउने गरेकोमा हाल २५ सम्म आउने गरेका छन्, यसअघि वडाभित्रैको बिरामी आउने गरेकोमा डाक्टरले सेवा दिन थालेपछि हाल वडा बाहिरका बिरामी पनि आउछन् ।”

कोरोनाका जटिल बिरामी कोही नआउने गरेकोले आफूले हाल ओपिडी सेवा दिइरहेको डाक्टर कार्कीको भनाइ छ । उहाँले भन्नुभयो, “आफू आएपछि बिरामीहरु बढेका छन्, आफ्नो क्षमताअनुसार बिरामीको उपचार परामर्श दिने गरेको छु ।” गाउँमै चिकित्सकीय सेवा पाउँदा निकै सहज भएको स्थानीय सीता सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्यचौकीमा पाउने सेवाका साथै परामर्शका लागि सजिलो भएको छ ।”

स्वास्थ्यचौकीमा प्रयोगशाला सेवासमेत सञ्चालनमा रहेको छ । दोगडाकेदार गाउँपालिकासहित जिल्लाका पाँच स्थानीय तहमा हाल कोरोना अस्थायी अस्पतालमा चिकित्सक छन् । दशरथचन्द नगरपालिकाबाहेक अन्य बाँकी चार स्थानीय तहका कोरोना अस्थायी अस्पतालमा भने चिकित्सक छैनन् । अस्थायी अस्पतालका लागि चिकित्सक आउन नमानेका हुन् ।

सङ्घीय सरकारले कोभिड अस्थायी अस्पतालका लागि स्थानीय तहलाई रु १० लाख बजेट पठाएको थियो । जसमा पाँच श्य्याको अस्थायी अस्पताल निर्माण गर्ने, एक एमबिबिएस डाक्टर, दुई स्टाफ नर्स र एक कार्यालय सहयोगीको पारिश्रमिक दिने भनिएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>