देश/प्रदेश

भरतपुर कारागारमा पुस्तकालय पुनःनिर्माण तथा पुस्तक हस्तान्तरण गरिने

Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, पुस २४ – टिम नेपो चितवन र लियो क्लब अफ भरतपुर युथको संयुक्त आयोजनामा भरतपुर कारागारभित्र पुस्ताकालय पुनः निर्माण तथा पुस्तक हस्तानान्तरण गरिने भएको छ ।

कारागारमा रहेको पुस्तकालयलाई मर्मत गरी ५०० भन्दा बढी पुस्तकहरु थप गरिने भएको हो । पुस २७ गते सोमबार पृथ्वी जयन्तिको अवसर पारेर विभिन्न विधाका पुस्तकहरु हस्तान्तरण गर्न लागिएको टिम नेपोका अध्यक्ष निगम पौडेलले जानकारी दिए ।

टिम नेपोले देशभर रहेका सम्पूर्ण कारागारहरुमा पुस्तकालय निर्माण गर्ने उद्देश्यसहित कारागारमा पुस्तकालय स्थापना अभियान सञ्चालन गर्दै आइरहेको छ । विगत दुई वर्षदेखि संस्थाले ‘पुस्तक परियोजना’ अभियान चलाइरहेको छ । कैदीबन्दीहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुनःस्थापना होस् भन्ने हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामग्री वितरणको अभियान चालिएको पौडेल बताउँछन् । कारागारमा पुस्तकको निकै आवश्यकता हुने देखिएकाले यसलाई अभियानकै रुपमा संचालन गरिएको उनले बताए ।

यसै क्रममा चितवनमा पनि लियो क्लव अफ भरतपुर युथसँगको सहकार्यमा पुस्ताकालय विकास गर्न लागिएको पौडेलले । लियो क्लवका सदस्यहरुले पुस्तक संकलन गरिसकेको जानकारी गराएकाले २७ गते कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । लियो क्लब अफ भरतपुर युथका अध्यक्ष लियो दिपेश ज्ञवालीले आफूहरुले पुस्तक संकलन गरेर टिम नेपोको अभियानमा सहकार्य गरेको बताए ।

हाल भरतपुर कारागारमा निकै पूरानो पुस्तकालय रहेको र पुस्तकहरु पनि खासै नभएको कारागारका सूचना अधिकारी रामबाबु श्रेष्ठले जनाए । पुस्ताकालयमा भएका पुस्तकहरु पनि समय सान्दर्भिक नभएकाले अब नयाँ पुस्तक आएमा पुस्तकालय प्रभावकारी हुने उनको अपेक्षा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>