देश/प्रदेश

वन फँडानीविरुद्ध दिनहुँ खबरदारी

Banner

महोत्तरी, पुस २४ –

पुसको कठ्याङ्ग्रिदो जाडोबीच महोत्तरीमा वन फँडानीविरुद्धको खबरदारी भने तातेको छ ।

जिल्लाको बर्दिबास नगरपालिका–१ को रम्तेलडाँडा सामुदायिक वन रातारात फाँडिएपछि यहाँका आम युवा अहिले खबरदारीमा उत्रेका हुन् । बर्दिबासमा अचेल केही दिनयता दिनहुँजसो वनफँडानी गर्नेविरुद्ध कडा कारवाहीको माग गर्दै बढेको स्वरले माहोल तताएको हो ।

“कोही भाग्न उम्कन पाइँदैन्, वन फँडानीमा संलग्न सबैलाई कारवाही हुनैपर्छ”, बर्दिबास चोकमा दिनहुँजसोे भेला हुने युवाको सामूहिक स्वर यस्तै गुञ्जन्छ । लाग्दो पुसमै रम्तेलडाँडा सामुदायिक वनको करिब चार बिघा क्षेत्रफलका ४०० भन्दा बढी रुख काटेर वनक्षेत्र नाङ्गो बनाएपछि यहाँका युवाको आक्रोस् बढेको हो ।

विक्रम सम्वत् २०४३ मा तत्कालीन सरकारले अतिक्रमित वनक्षेत्रको अतिक्रमण हटाएर नाङ्गोडाँडामा वृक्षरोपण गरेको र सो वन २०४९ सालमा रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिमा हस्तान्तरण भएको बर्दिबासवासी झलझली सम्झन्छन् । “मेरा पिताजी वनरक्षक हुनुहुन्थ्यो, म उहाँको हात समाएर कैयौं पटक यो वनमा आएको छु” अहिले पेशाले कानून व्यवसायी रहनुभएका बर्दिबास–१ का बासिन्दा ५० वर्षीय टीकाध्वज खड्काले भन्नुभयो, “पापीहरुले सोतर बनाएछन् , यिनलाई कारवाही हुनैपर्छ ।”

बस्तीभन्दा परको निर्जन वनक्षेत्रमा रातारात रुख काटेर काठ ओसार्दै गर्दा थाहा पाएपछि स्थानीयवासीको प्रतिवादले वन फँडानी गर्ने भागेका थिए । लगत्तै बर्दिबासका ५१ जना युवाले वन फँडानी गर्नेविरुद्ध अनुसन्धान र कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयमा उजूरीसमेत दिएका छन् । संयुक्त उजूरीबारे अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयले जनाएको छ । बर्दिबास–१ का लीलामणि आचार्य र कृष्णप्रसाद गौतमले भव्सी नदी किनारको आफ्ना नाउँमा दर्ता रहेको जग्गा वनक्षेत्रमा देखाइ आवश्यक कागजात पु¥याएर वन फँडानी गरेका रहस्यपछि खुल्दै गएको हो । “यहाँ त वन फाँड्नका लागि निकै गृहकार्य पो भएको रहेछ”, वन नजिकैको बर्दिबास–१ कै बासिन्दा ३० वर्षीय विजय पोखरेलले भन्नुभयो, “खोलाको जग्गा वनमा देखाउन बर्दिबास–१ वडा कार्यालय, बर्दिबासस्थित नापी र मालपोत कार्यालय अनि हाम्रै रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नै पो लागेका रहेछन् ।” घटना सार्वजनिक भएपछि अब जोजो संलग्न छन्, सबैमाथि कारवाही हुनैपर्ने विजयको थप माग छ ।

आचार्य र गौतमले आफ्ना नाउँमा दर्ता रहेको साविक २५ नम्बर बहादुरगञ्ज–३ ‘क’ (हाल बर्दिबास–१) को कित्तानम्बर–३ को ०१–०२–११ (एक बिघा दुई कठ्ठा ११ धुर) क्षेत्रफल जग्गामा आफैंले रोपी हुर्काएको रुख कटानको स्वीकृति माग्दै डिभिजन वन कार्यालय महोत्तरीमा दिएको निवेदनअनुसार कागजात प्रक्रिया पु¥याएर वन फँडानी गरेका अब खुलेको छ । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले नै फरक भूगोलको दर्ता जग्गा वनक्षेत्रमा देखाएर रुख कटान भएको स्वीकार गर्नुभयो ।

“हामीकहाँ (कार्यालयमा) जग्गाको लालपूर्जा, तिरो तिरेको रसिद संलग्न राखेर यो जग्गाको रुख ९सिसम, टिक, मसला उल्लेख गरिएको० काट्न स्वीकृतिका लागि निवेदन आयो”, डिभिजन प्रमुख साहले भन्नुभयो, “सोबारे यकिन बुझेर जानकारी गराउन आफ्नै मातहतका अधिकृत खटाएँ , सबै कागज कटान स्वीकृति दिन मिल्ने गरी आए, म पनि झुक्किएँ ।” आपूmले जिम्मेवार अधिकृतलाई खटाएको पत्रमै नापी, मालपोत, वडा कार्यालय र वन उपभोक्ता समितिलाई आवश्यक समन्वयका लागि अनुरोध गरेको र सबै ठाउँबाट किटानसाथ काट्न दिन मिल्ने ठहर भएको कागजात आएपछि कटान स्वीकृति दिएको साहको भनाइ छ ।

“सबै ठाउँमा आफैं पुग्न भ्याइदो रहेनछ, जिम्मेवार अधिकृत र सम्वद्ध निकाय र कार्यालयको कागजमा विश्वास गरेँं”, उहाँले भन्नुभयो, “मलाई पनि छक्याएछन् ।” यद्यपि लगत्तै यो जालझेलको भनक पाउनासाथ आपूmले तत्काल कारवाही प्रक्रिया बढाएको साहको भनाइ छ । “स्थानीयवासीले हल्लीखल्ली गरेपछि तत्काल आफ्ना मातहतका सो कार्यमा संलग्न कर्मचारीमाथि कारवाही बढाइहाले, अहिले सात जना हाम्रा मातहतका कर्मचारी कारवाही प्रक्रियामा छन्”, झुठो व्यहोरा दिएर रुख कटानको स्वीकृति माग्ने आचार्य, गौतम र रुख काट्न संलग्न सिन्धुलीको सुनकोशी गाउँपालिकाका सन्दिप नेपालीविरुद्ध महोत्तरी जिल्ला अदालतमा मुद्दा दर्ता भई तीनै जनामाथि पक्राउ आदेश जारी भइसकेको डिभिजन प्रमुख साहको भनाइ छ ।

यस प्रक्रियामा रम्तेलडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर राउत एक साताअघि नै पक्राउ परिसकेका छन् । अन्य फरारहरुको खोजी भइरहेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । वन फँडानी प्रकरणमा आचार्य र गौतमको दर्ता कायम रहेको जग्गामै रुख रहेको र सो कटान स्वीकृति दिन मिल्ने किटानसाथ सिफारिस गर्ने वडा कार्यालय, मालपोत तथा नापी कार्यालय र अन्य मतियारको पनि खोजी गरिनुपर्ने स्थानीय युवाको माग छ ।

“जालझेल र षड्यन्त्र गर्ने त अब कागजमै स्पष्ट देखिएका छन् नि ” अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयमा संयुक्त उजूरी गर्नेमध्येका बर्दिबास–१ कै सौरभ खड्काले भन्नुभयो, “अगाडि स्पष्ट देखिएका जो छन् , तिनलाई कारवाही र षड्यन्त्रमा सामेलहरुको खोजी गर्न सम्बद्ध कार्यालय र निकायको तत्परता देखिनु प¥यो ।”

पूर्व–पश्चिम राजमार्गको बर्दिबास–१ मा रातु पुलबाट भव्सीपुलसम्मको करिब दुई किलोमिटर दूरीको ३०० मिटर माथि (उत्तरतर्फ) भित्ता (पाखा) मा नेवारडाँडा कमीडाँडा, चिहानडाँडा, रातमाटा र रम्तेलडाँडासहित चारवटा सामुदायिक वन क्षेत्र छन् । यी चारैमा भू–माफियाको आँखा गडेको बर्दिबास–१ कै सामाजिक, राजनीतिक कार्यकर्ता शङ्कर फुयाँलले बताउनुभयो ।

“रम्तेलडाँडा यसपाली फाँडे, नेवारडाँडा कामीडाँडा पोहोरै फाँडेका छन्” फुयाँलले भन्नुभयो, “अख्तियार, इलाका प्रहरी, इलाका प्रशासन र वनसम्बद्ध कार्यालय यहीं छन् , सब कानमा तेल हालेर बसेका छन् ।” नेवारडाँडा कामीडाँडा वनको १६ बिघे भनिने प्लटमा उच्चतहका राजनीतिक व्यक्तित्व, उच्च सरकारी अधिकृत र ठूलावडा भनिनेहरुले वनक्षेत्र अतिक्रमण गरेर साँध सीमा नै लगाएपछि कारवाही नभएको फुयाँलको आक्रोस् छ ।

नेवारडाँडा कामीडाँडामा गत वर्षमात्रै प्रदेश–२ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका तत्कालीन सचिव प्रेमनारायण कँडेलकै उपस्थितिमा गरिएको वन सीमाङ्कनमा करिब पाँच हेक्टर वनक्षेत्र अतिक्रमित भएको बताइएको थियो । तर, अतिक्रमित वनक्षेत्र खाली गराउन डिभिजन वन कार्यालयले कुनै तदारुखता नदेखाउदा वर्सेनी भू–माफियाको मन बढ्दै गएको यहाँका युवा बताउँछन् ।

यसैबीच हालै फाँडिएको रम्तेलडाँडा वनक्षेत्रको अवलोकन गर्नुभएका प्रदेश–२ का उद्योग, पर्यटन , वन तथा वातावरणमन्त्री रामनरेश रायले भने वन उजाड्ने कसैले छुट नपाउने तथा फँडानी र अतिक्रमणमा संलग्न सबैमाथि कारवाही गरिने प्रतिबद्धता जनाउनुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>