चितवन विशेष

देवघाट गाउँपालिकामा मिडियाको प्रभावबारे सर्वेक्षण

Banner

देवघाट, पुस ३-

सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुले तनहुँको देवघाट गाउँपालिका क्षेत्रमा मिडियाको प्रभावबारे सर्वेक्षण गरेका छन् ।
आमसञ्चार विषयका सहायक प्राध्यापक मधुसूदन दवाडीको नेतृत्वमा गएको टोलीले अनलाइन र रेडियोको प्रभावबारे अध्ययन गरेका हुन् । अध्ययनमा क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा आमसञ्चार तथा पत्रकारिता विषय अध्ययनरत २१ जना विद्यार्थीको सहभागिता रहेको छ । प्रश्नाबली विधिमार्फत् गरिएको अध्ययन २०० जना व्यक्तिहरुमा गरिएको छ । समुदायमा आमसञ्चारका माध्यमहरुले पारेको प्रभाव पत्ता लगाएर भविष्यमा सञ्चार कानुनहरु निर्माणमा सहयोग पुग्ने गरी अध्ययन गरिएको प्राध्यापक दवाडीले जानकारी दिए । सर्वेक्षणले समाचार माध्यमहरुको प्रभावकारिता, आमसमुदायको रुचि, फाइदा, बेफाइदा र सुझावहरुको बारेमा अध्ययन गर्ने लक्ष्य राखेको छ ।
सर्वेक्षणमा खटिएका प्राध्यापक तथा विद्यार्थीहरुलाई स्वागत गर्दै देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले सञ्चार माध्यमहरुले गाउँपालिकामा भएका सकारात्मक कामहरुलाई भन्दा पनि नकारात्मक कामहरुलाई बढी प्राथमिकतामा राख्नु दुःखद् भएको बताए ।

उनले भने, ‘देवघाट गाउँपालिकामा धेरै राम्रा कामहरु भएका छन् । तिनीहरुले खासै प्रचारप्रसार पाउन सकेका छैनन् । तर, देवघाटको पुलमा मागेर बस्ने अशक्त भीमबहादुर विकको बारेमा युट्युबहरुले खोजी खोजी भिडियोहरु बनाएका छन् । उसलाई चाहिदो नचाहिदो प्रश्नहरु सोधेर भिडियोहरु बनाउनु पक्कै राम्रो काम होइन ।’ पत्रकारहरुले विज्ञापन नदिए सेतो कुरालाई कालो र विज्ञापन दिए कालो कुरालाई पनि सेतो बनाउने प्रवृत्ति रोक्नुपर्ने उनले विचार राखे । उनले पत्रकारको धर्मलाई नबिर्सन पनि सबैलाई सचेत गराए ।

कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष विमला थापाले गाउँपालिकाको न्यायिक समितिले गरेका कामहरुको बारेमा जानकारी गराएकी थिइन् । त्यस्तै कार्यक्रममा गाउँपालिकाका प्रवक्ता यालबहादुर गुरुङले गाउँपालिका क्षेत्रको भौगोलिक अवस्था, सांस्कृति, शैक्षिक र धार्मिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा गाउँपालिकाका वातावरण निरीक्षक तथा रोजगार संयोजक ध्रुव आचार्यले गाउँपालिकाले सञ्चालन गरेका सरसफाइ, बालमैत्री कार्यक्रमहरुको बारेमा जानकारी दिए । उनले गाउँपालिकाले फोहोरको व्यवस्थापन र खानेपानीको वितरणमा धेरै नमुना कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिए । त्यसैगरी गाउँपालिकाका कृषि अधिकृत पूर्णचन्द्र अधिकारीले गाउँपालिकाले कृषि क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज उज्वलराज चिलवालले गाउँपालिकामा हुने गरेका अपराधिक घटनाहरुको बारेमा जानकारी दिए । १६ हजार जनसंख्या रहेको देवघाट गाउँपालिकामा ६ वटा माध्यमिक विद्यालय, एउटा एफएम, एउटा साप्ताहिक पत्रिका १० बेडको आधारभूत अस्पताल रहेका छन् । त्यसैगरी कृषितर्फ सुन्तला र लिची खेती, पशुपालनमा गाई पालन र बाख्रा पालनमा विभिन्न कार्यक्रमहरु सञ्चालित रहेको कार्यक्रममा जानकारी दिइयो । दुईवटा समूहमा सञ्चालित मिडिया सर्वेक्षणलाई नविन कोइराला र दिपक सापकोटाले संयोजन गरिरहेको आमसञ्चारका सहायक प्राध्यापक दवाडीले जानकारी दिए । सर्वेक्षणबाट प्राप्त निष्कर्षलाई दुई हप्तापछि सार्वजनिक गरिने उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>