Breaking News

रत्ननगर उद्योग वाणिज्य संघमा गिरी र श्रेष्ठको प्रतिस्पर्धा, मत क्रस नभए नेकपाको वर्चश्व कायमै रहने

Banner

चितवन, मंसिर २८-

चितवनको रत्ननगर उद्योग वाणिज्य संघमा चुनावी सरगर्मी सुरु भएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघको २१ औँ साधारण सभा तथा अधिवेशन आइतबारबाट सुरु भएसँगै चुनावी सरगर्मी बढेको हो । अधिवेशनलाई पूर्वअर्थमन्त्री तथा नेकपा स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेले उद्घाटन गरेका हुन् ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी तथा सदस्यहरु चयन गर्दैछ । संघको नेतृत्व हात पार्न नेकपा र नेपाली कांग्रेसनिकटका व्यवसायीहरु दुई प्यालन चुनावी मैदानमा छन् । भोली सोमबार बिहानबाट सुरु हुने मतदानबाट वरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी तथा सदस्यहरु चयन हुदैछन । संघको वरिष्ठ उपाध्यक्षसहित २१ पदमा निर्वाचन हुँदैछ । त्यसका लागि ४३ जना व्यवसायीले उमेदवारी दर्ता गराएका छन् ।

मतदानमा वरिष्ठ उपाध्यक्षका लागि नेकपा निकटका व्यवसायी शंकर गिरी र नेपाली कांग्रेसनिकट व्यवसायी देवेन्द्रकुमार श्रेष्ठको प्रतिस्पर्धा हुँदैछ । वाणिज्यतर्फको उपाध्यक्षमा नेकपाका भीमनारायण श्रेष्ठ र नेपाली कांग्रेसबाट कविन घिमिरे तथा स्वतन्त्र उमेदवारका रुपमा देवीप्रसाद डल्लाकोटी उभिएका छन् ।

उद्योगतर्फको उपाध्यक्षमा नेकपाका पुरू खनाल र नेपाली कांग्रेसबाट निरञ्जन थापा, एसोसिएट उपाध्यक्षमा नेकपाका राममणि थपलिया र राप्रपाका हरिप्रसाद अधिकारीले बीच प्रतिस्पर्धा हँुदैछ । महासचिवमा नेकपाबाट निराजन खनाल र नेपाली कांग्रेसबाट माधवप्रसाद पौडेल र कोषाध्यक्षको लागि नेकपाबाट उपेन्द्र शर्मा आचार्य र नेपाली कांग्रेसबाट मीना उप्रेती उमेदवार बनेका छन् । यसका अलावा उद्योग, वाणिज्य, वस्तुगत तथा महिला सदस्यहरुको स्थानमा दुवै प्यानलबाट दुई दर्जन बढी उमेदवारहरुले उमेदवारी दिएका छन् । सो अधिवेशनले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी तथा सदस्य गरी २५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । सात सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ ।

आसन्न निर्वाचनमा वाणिज्यतर्फको उपाध्यक्षमा उमेदवारी दिएका देविप्रसाद डल्लाकोटी आधिकारिक उम्मेदवार नभएको नेकपाले स्पष्ट पारेको छ । नेकपा निकट र कांग्रेस निकट व्यवसायीको बीचमा भएको चुनावी प्रतिस्पर्धाले राजनीतिक निर्वाचनकै झझल्को दिएको छ । मत क्रस भएन भने रत्ननगर वाणिज्य संघका नेकपाले जित्ने निश्चित रहेको वाणिज्य संघका सल्लाहकारसमेत रहेका प्राध्यापक कपिलदेव सुवेदीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ सबै पक्षको सहभागिता रहने गरी नेकपाको प्यानल बनेकोले पनि मत क्रस हुने कुनै सम्भावना देखिँदैन ।’ उनले नेकपा प्यानल ३०० बढी भोटले अगाडि रहेको दाबी गरे । तर, पनि व्यवसायिक सुरक्षाको स्पष्ट खाका सहित निर्वाचनमा गएका कारण कांग्रेस निकटका व्यवसायीहरु निर्वाचनमा सफलता हात पार्नेमा ढुक्क रहेको बताएका छन् । नेकपाका व्यवसायीहरुले भने निर्वाचनमा आफ्नो स्पष्ट बहुमत रहेकाले जित हात पार्न सहज रहेको बताएका छन् । वरिष्ठ उपाध्यक्षमा चुनावी प्रतिस्पर्धामा रहेका शंकर गिरी र देवेन्द्रकुमार श्रेष्ठ दुवै रत्ननगरका लोकप्रिय व्यवसायीका रुपमा मानिन्छन् । गिरी यातायात व्यवसायीका रुपमा परिचित छन् भने श्रेष्ठ हार्डवेयर व्यवसायी हुन् ।

रत्ननगर नगरपालिकाको रुपमा स्थापित भएसँगै विसं २०५४ सालमा रत्ननगर उद्योग वाणिज्य संघको स्थापना भएको हो । स्थापना कालदेखि आजसम्म दुई कार्यकाल बाहेक सधै नै बामपन्थी निकट व्यवसायीहरुकै वर्चश्व रहँदै आएको इतिहास छ । उनीहरुको वर्चश्व तोड्नलाई श्रेष्ठ प्यानललाई त्यतिसहज भने नभएको अग्रज व्यवसायीहरु बताउँछन् ।

अधिवेशनको उद्घाटन कार्यक्रममा पत्रकारिताको माध्यवबाट जिल्लाको आर्थिक विकासमा योगदान गर्ने पत्रकारहरु रमेशकुमार पौडेल, शालिकराम नेपाल, होमनाथ सापकोटा, धु्रवराज खनाललाई सम्मान गरिएको थियो । कार्यक्रममा संघका अध्यक्ष राजाराम रेग्मीको कार्यकालमा सहयोग गर्ने कार्यसमितिका पदाधिकारी, सदस्यहरु,पूर्वअध्यक्षहरु, कर्मचारी तथा बालश्रम न्यूनीकरणमा योगदान दिएका वडा नं १४ का सचिव बासुदेव रिजाललाई कदरपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वन, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ,संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । साधारण सभाको बन्द सत्रमा महासचिव निराजन खनालले प्रस्तुत गरेको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष देविप्रसाद डल्लाकोटीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु पारित भएको छ ।

संघको वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी तथा सदस्य निर्वाचनको लागि एक हजार ३२५ जना व्यवसायीहरुले मतदान गर्दै छन् । रत्ननगर उद्योग वाणिज्य संघ उत्कृष्ट उद्योग वाणिज्य संघका रुपमा सम्मानित भइसकेको छ । देश भरका उद्योग वाणिज्य संघ मध्य कार्यसम्पादका हिसाबले दोस्रो स्थानमा रहेको भन्दै रत्ननगर उद्योग वाणिज्य संघलाई महासंघले सम्मान गरेको थियो । त्यसैले पनि वाणिज्य संघमा आफ्नो पक्षको प्यानलाई जिताउन ठूला दल नेकपा र कांग्रेसका नेताहरु लागि परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>