सुदूरपश्चिम

कोरोना परीक्षणमा आनाकानी

Banner

सिद्धराज भट्ट
सुदूरपश्चिम, मङ्सिर२३-

 धनगढीको व्यापारिक फर्ममा काम गर्दै आउनुभएका स्थानीय एकजना पुरुषलाई ज्वरो र रुघाखोकीको समस्या देखिएपछि बिदा मागेर घरमै बस्नुभयो । कोरोना भाइरस सङ्क्रमण भएको शङ्का गर्दै छिमेकी र परिवारका सदस्यले नमूना परीक्षण गराउन पटक पटक सल्लाह दिए पनि उहाँले परीक्षण गराउन मान्नु भएन ।

घरमै तुलसीपात र ज्वानो घोलिएको तातोपानी नियमित खाने गर्नुभयो । घरको बसाइमा उहाँ १२ दिनमै सञ्चो भई आफ्नो नियमित काममा फर्किनुभयो । रुघाखोकी र ज्वरोको लक्षण देखिएका धनगढीकै अर्का नाम उल्लेख गर्न नचाहने पुरुषले पनि नमूना जाँच गराउन परिवार र छरछिमेकीले दिएको सल्लाह मान्नु भएन । उहाँले भन्नुभयोे, “नमूना लिन घरमै स्वास्थ्यकर्मी आइदिएको भए दिन्थे, घरबाहिर गएर नमूना दिन असहज महसुस हुँदा दिएन ।”

कोरोनाको सङ्क्रमण भए नभएकोबारे जानकारी नभए पनि बिरामी भएको समयमा घरमा बस्दा परिवारका अन्य सदस्यको स्वास्थ्य सुरक्षाका लागि भने आफू सचेत भएको उहाँले बताउनुभयो । घरमै अलग्गै बस्नुभएका उहाँ दुई हप्तापछि निको भई काममा फर्किनुभयो ।

उहाँहरु जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने, हातखुट्टाका जोर्नी दुख्ने लक्षण देखिने कतिपय व्यक्ति पछिल्ला दिनमा आफ्नो नमूना परीक्षण गराउन इच्छुक देखिँदैनन् । कोरोना भएको पुष्टि भएमा समाजले सम्बन्धित व्यक्तिमाथि गर्ने व्यवहार र परिवारका सदस्यमा देखिन सक्ने त्रासका कारण पनि कतिपय व्यक्तिले आफ्नो नमूना जाँच गराउन इच्छुक नदेखिनु भएको बताइन्छ । यस्तो लक्षण देखिने व्यक्ति बिरामी भएर घरमै बस्ने गरेका छन् ।

लक्षणसहित सिकिस्त अवस्थाका बिरामीले भने नमूना जाँच र परीक्षण गराउने गरेका छन् । पछिल्ला दिनमा प्रदेशमा नमूना सङ्कलनमा पनि कमी हुँदै गएको छ । प्रदेशका प्रयोगशालमा दैनिक छ हजार नमूना परीक्षण गर्ने क्षमता रहे पनि नमूना सङ्कलन सुस्त हुँदा निकै कम नमूनाको परीक्षण हुने गरेको छ ।

पछिल्ला दिनमा अस्पतालमा गम्भीर अवस्थाका बिरामी बढ्दै जाँदा मृत्यु दर पनि बढ्दै गएको देखिएको छ । मङ्सिर १६ गतेयता एक हप्ताको अवधिमा प्रदेशका विभिन्न जिल्लाका कोभिड–१९ का शङ्कास्पद दुई हजार ३०६ जनाको नमूना सङ्कलन हुन सकेको छ । सो अवधिमा सक्रिय सङ्क्रमित ३३० जना थपिएका छन् भने चारजनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा एक हप्तामा थप ४६४ मा सङ्क्रमण देखिँदा १३१ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज हुनुभएको छ । अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ११ हजार ८१६ पुग्दा नौ हजार ६४८ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज हुनुभएको छ ।

सङ्कलन भएका केही नमूनाको परीक्षण हुन बाँकी छ । सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमर कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताउनुहुन्छ । “जाडो मौसममा भाइरल इम्फेक्सनको जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्न सक्छन्”, उहाँले भन्नुभयो, “कोरोना भाइरसका जटिल अवस्थाका बिरामी भर्ना हुने दर बढ्दो छ ।”

स्वास्थ्य निर्देशनालय दीपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले कोरोनाको जस्तो लक्षण भएर पनि कतिपयले आफ्नो नमूना जाँच नगराइरहेको भन्ने जानकारी नभएको बताउनुभयो । “हरेक पालिकामा व्यवस्था गरिएको सङ्कलन केन्द्रमा नमूना दिन सकिने व्यवस्था गरिएको छ”, जोशीले भन्नुभयो, “नमूना नदिनेलाई कोरोना भाइरसको सङ्क्रमण भएको भए त्यसले समाजमा थप जटिलता निम्त्याउन सक्छ ।”

लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका व्यक्ति, अन्यत्र ठाउँवाट आएर क्वारेन्टिनमा बसेकाहरुको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो मापदण्ड बनेकाले पनि नमूना सङ्कलनमा कमी आएको हुन सक्ने बताइएको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना सङ्क्रमित ४२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीमा २२, कञ्चनपुरमा छ, डडेलधुरा र बझाङमा तीन÷तीन, अछाम, बाजुरा, दार्चुलामा दुई÷दुई, डोटी र बैतडीमा एक÷एकजना छन् । सङ्क्रमित भई होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।

सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना सङ्क्रमणको जटिल अवस्थाका सातको सघन उपचार कक्ष ९आइसियु०मा र दुईजनाको भेन्टिलेटरमा उपचार व्यवस्थापन भइरहेको छ । कोरोना भाइरस सङ्क्रमणको समस्यासँगै सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा सञ्चालनमा ल्याइएका पिसिआर मेसिनमार्फत कोरोनाको नमूना परीक्षण भइरहेको छ । तर मेसिन सञ्चालन गर्न आवश्यक सामग्रीको व्यवस्थापनमा ढिलाइ हुँदा कञ्चनपुरको महाकाली अस्पतालको यो मेसिन अझै सञ्चालनमा आउन सकेको छैन । दुई महिनाअघि सो अस्पतालमा पिसिआर मेसिनको व्यवस्थापन भएको थियो । कैलालीको सेती प्रादेशिक अस्पतालमा दुई र डडेलधुरा, डोटी, बैतडी, अछाम अस्पतालमा व्यवस्थापन गरिएका एक एक पिसिआर मेसिनबाट कोरोनाको नमूना परीक्षण भइरहेको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>