Breaking News

नेपाल विद्युत् प्राधिकरणको चुहावट बढेर १४ प्रतिशत पुग्यो

Banner

काठमाडौं, मंसिर १८-

विद्युत चुहावट नियन्त्रणलाई नेपाल विद्युत् प्राधिकरणले कम प्राथमिकतामा राख्दा वितरण प्रणालीको विद्युत चुहावट १४ प्रतिशतभन्दा माथि रहेको देखिएको छ ।

प्राधिकरणकै तथ्यांक अनुसार, चालु आर्थिक वर्षको असोजमा भएको प्रणालीगत विद्युत चुहावट गत सोही अवधिको तुलनामा करिब साढे दुई प्रतिशतले बढेको हो । वितरण प्रणालीको चुहावट गत वर्ष असोजमा ११.९८ प्रतिशत रहेको थियो । यो चालु आर्थिक वर्षको असोजमा १४.२९ प्रतिशत पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २.३१ प्रतिशतले बढी हो।

गत वर्षको तुलनामा चुहावट बढी देखिए पनि चालु आर्थिक वर्षको भदौको तुलनामा भने चुहावट केही घटेको छ । भदौमा १६.९३ प्रतिशत रहेको यो चुहावट असोजमा १४.२९ प्रतिशतमा झरेको छ। महिनागत रुपमा भदौको भन्दा असोजमा यस्तो चुहावट २.६४ प्रतिशतले घटेको हो । यद्यपि, चुहावट नियन्त्रणमा प्राधिकरण उदासीन हुँदा अझै पनि यो उल्लेख्य रहेको छ ।

यसअघि मासिक २२ प्रतिशतसम्म रहेको वितरणतर्फको चुहावट कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि मासिक ८ र ९ प्रतिशतसम्ममा सीमित गरेका थिए। अहिले फेरि वितरणतर्फको चुहावट केही बढेको हो । असोजमा सबैभन्दा धेरै प्रणालीगत विद्युत् चुहावट बुटवल वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बढेको छ। बुटवलमा यो वर्षको असोजमा १५.३१ प्रतिशत चुहावट छ जुन गत वर्षको सोही अवधिमा भने १०.५८ प्रतिशत मात्रै थियो ।

त्यसैगरी, गत असोजमा सबैभन्दा कम चुहावट वृद्धि नेपालगञ्ज वितरण केन्द्रको छ । नेपालगञ्जमा १२.६६ प्रतिशत मात्रै चुहावट छ । गत वर्ष असोजमा पनि नेपालगञ्जमा १२.३८ प्रतिशत चुहावट थियो।

देशभरका वितरण केन्द्रमध्ये सबैभन्दा कम चुहावट काठमाडौं वितरण केन्द्रको छ । काठमाडौंमा अहिले ६.९९ प्रतिशत मात्र चुहावट छ । गत वर्ष असोजमा भने यो ५.७९ प्रतिशत थियो।

गत वर्षको तुलनामा काठमाडौंको चुहावट १.२ प्रतिशतले बढे पनि देशभरका वितरण केन्द्रको तुलनामा सबैभन्दा कम चुहावट काठमाडौंमा देखिएको हो।

विराटनगर वितरण केन्द्रको १५.३९५ (पोहोर असोजमा १२.७०५), जनकपुर २१.४६५ (२०.४३५), हेटौंडा ११.१९५ (९.३९५), पोखरा ११.६९५ (८.१८५), सुर्खेत १६.५७ (१४.८९५) र कैलालीको अत्तरिया वितरण केन्द्रको चुहावट १४.३५५ (११.९१५) प्रतिशत छ।

यसमा कोष्ठभित्र राखिएको आँकडा गत वर्षको सोही अवधिको चुहावट हो। साउन र भदौको तुलनामा चुहावट केही घटेको भएपनि समग्र चुहावट भने गत वर्षको सोही अवधिको तुलनामा सबै वितरण केन्द्रको बढेको देखिएको छ।

गत वर्ष १० प्रतिशतभन्दा कम वितरण चुहावट भएका काठमाडौं, बुटवल, पोखरा र हेटौंडामध्ये काठमाडौंबाहेक सबै वितरण केन्द्रको चुहावट दोहोरो अंकमा पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब १५ देखि १७ प्रतिशतसम्म चुहावट रहेको प्राधिकरणको तथ्यांक छ । यो वर्ष पहिलो तीन महिनाको औसत चुहावट १६ प्रतिशत रहेको छ । गत वर्ष सोही अवधिको औसत चुहावट १४ प्रतिशत र वार्षिक औसत चुहावट ११ प्रतिशत रहेको थियो।

कोरोना महामारीका कारण चुहावट नियन्त्रण अभियानअन्तर्गत चाल्नुपर्ने गतिविधि सञ्चालन गर्न नपाउँदा वितरण मात्रै नभएर प्राविधिक चुहावट समेत बढेको प्राधिकरणका अधिकारीहरु बताउँछन्।

(विजमाण्डुबाट)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>