Uncategorized

‘नालापानी’ चलचित्रलाई सहयोग गर्ने सञ्चार मन्त्री गुरुङको आश्वासन

Banner

चितवन, मंसिर १३-

रिमेश अधिकारी निर्देशित नेपाली चलचित्र ‘नालापानी’ लाई विशेष चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन चलचित्र सम्बन्धित संघ संस्थाहरुले सरकारलाई सिफारिस गरेका छन् ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर सो चलचित्र निर्माण भएको हो ।

चलचित्र विकास बोर्डले एक पत्रमार्फत् चलचित्रले ऐतिहासिक नालापानीको युद्धको कथावस्तुलाई उजागर गरी राष्ट्रिय गौरव, राष्ट्रिय प्रेम तथा देशभक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने हेतुले निर्माण भएकाले ‘नालापानी’ लाई प्रदर्शन, प्रचार प्रचारलगायतका पाटोमा सहयोग उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आग्रह गरेको छ ।

त्यस्तै, चलचित्र कलाकार संघ, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ र राष्ट्रिय विभुति वीर बलभद्र कुँवर प्रतिष्ठान नेपालले चलचित्रलाई राष्ट्रिय विशेष चलचित्र घोषणा गरी आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन् । चलचित्रले उठान गरेको विषयवस्तुले अन्तर्राष्ट्रियस्तरमा देशको गौरव बढाउने पनि पाँच संस्थाको पत्रमा उल्लेख छ ।

चलचित्रका निर्माता तथा निर्देशक रिमेश अधिकारीले शुक्रबार चलचित्र विकास बोर्डसहित ६ वटा संस्थाले गरेको सिफारिस पत्र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई बुझाएका छन् । राष्ट्रिय गौरवको कथामा चलचित्र निर्माण भएकोमा खुसी व्यक्त गर्दै मन्त्री गुरुङले मन्त्रालयबाट हुने सहयोग गर्ने आवश्वास दिएका छन् । यो चलचित्रको अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ ।

टिजर सार्वजनिक भइसकेको चलचित्र सिनेमा हल सञ्चालनमा आएपछि प्रदर्शनमा आउनेछ । रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहेको यस फिल्मलाई बिजिबी इन्टरटेनमेन्ट र गंगा नारायण चलचित्रले सहकार्य गरेका छन् । ‘नालापानी’ को लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । द्वन्द्व रोशन श्रेष्ठ, सिनेमाटोग्राफी रामशरण उप्रेती, सम्पादन बिपिन मल्लले गरेका छन् ।

बसन्त खत्री मगरको भिएफएक्स रहेको चलचित्रमा सहनिर्माता पुजना प्रधान र गणेश कार्की रहेका छन् । कार्यकारी निर्माता घनेन्द्र थपलिया रहेको यस चलचित्रका निर्माता मनोज शाक्य हुन् । चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत बिष्ट, युग जंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी अधिकारी, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय रहेको छ ।

प्रा. डा. धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानीका नायक वीर बलभद्र कुँवर’ पुस्तकमा आधारित रहेर इतिहासविदहरु प्रा. डा. धनराज कुँवर, प्रा.डा. त्रिरत्न मानन्धर, प्रा. दिनेशराज पन्त, प्रा.डा. सुरेन्द्र केसी, पूर्वसहायक रथि डा. प्रेम सिंह बस्न्यातहरुसँग छलफल गरी नेपाली सेनाले प्रकाशित गरेको पुस्तक ‘सैनिक इतिहास’ लगायतका पुस्तकहरुमा आधारित भएर चलचित्र निर्माण भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>