देश/प्रदेश
मिसेस नेपालका लागि आवेदन खुल्यो

काठमाडौं, असोज २८-
विवाहित महिलाहरुको सौन्दर्य निखार्दै उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले इप्लानेटले नियमित आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको छ ।
आयोजक इप्लानेट प्रालिले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुला भएको जनाएको हो । ग्रिन आर्ट्स नेपालको संयोजन रहने प्रतियोगिताको यो वर्ष कोभिड १९ को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुवै माध्यमबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।
प्रतियोगिताका लागि आवेदन प्राप्त व्यक्ति मध्ये पनि आन्तरिक छनौटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स–२०१९’ अनिला श्रेष्ठलगायत विभिन्न वरिष्ठ व्यक्तिहरुबाट प्रशिक्षण प्रदान गरिनेछ । २१ वर्षदेखि ५५ वर्ष उमेरबीचका विवाहित नेपाली महिलाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्यता बाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउनेसम्म धेरै किसिमको काममा सक्रिय सहभागिता जनाउने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता शीर्ष उपाधि, विभिन्न गिफ्टको अलवा सन् २०२१ मा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । यसअघि ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधत्व अनिला श्रेष्ठ, मनिषा डंगोल, पद्मिनी झा, रजनी थापा, मिना घिमिरेले गर्नुभएको थियो । उनीहरु विभिन्न अन्तर्राष्ट्रिय उपाधि समेत नेपाल ल्याउन सफल रहेका छन् ।
























