गण्डकी

भीमाद नगरपालिकाको सेवा अनिश्चितकालका लागि बन्द

Banner

दमौली, असोज २१–

तनहुँको भीमाद नगरपालिकाले अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । समुदायस्तरमा कोरोनाको सङ्क्रमण बढ्दै गएकाले नगरपालिकाले आजदेखि अर्को सूचना नभएसम्मका लागि स्वास्थ्य र सुरक्षासम्बन्धीबाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नगरकार्यपालिकाको कार्यालयबाट कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य तथा सुरक्षासम्बन्धी कार्यबाहेक सम्पूर्ण कार्य र सबै वडा बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य, सुरक्षाबाहेक कुनै पनि किसिमका सवारी साधन आवतजावत नगर्न, सम्पूर्ण सङ्घसंस्था, कार्यालय बन्द गर्न, अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ ।

भीमाद नगरपालिका–६ मा मङ्गलबार ३८, २०, १८ र ३७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण भएको थियो । यसअगाडि सोही वडाकै एक व्यक्तिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले समुदायस्तरका व्यक्तिको स्वाब सङ्कलन गरेको थियो । कोरोना पुष्टि हुनेमध्ये एक वर्कसप, एक कपाल काट्ने व्यक्ति, एक सिलाइकटाई व्यवसायी र एक जना किराना पसल व्यवसायी छन् ।

व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएनन्

तनहुँको व्यास नगरपालिकाभित्रका व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको पाइएको छ । कोरोना जोखिम बढ्दै जाँदा पनि व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको व्यास नगरपालिकाले जनाएको छ । व्यवसायीले पसलमा मूल्यसूची नराखेको, बिनादर्ता पसल सञ्चालन गरेको, फुटपाथमा सामान राखी पैदलयात्रुको आवागमनमा अवरोध पु¥याएको व्यास नगरपालिकाले जनाएको छ ।

त्यस्तै बिक्री गर्ने सामानमा उत्पादन मिति र उपभोग्य मिति नभएको सामान बिक्री गरेको, खरिद गरेको मूल्यभन्दा ३०० प्रतिशत बढीसम्म नाफा खाएर सामान बिक्री गरेको, व्यापारिक अनुमतिपत्रमा उल्लेख भएभन्दा फरक सामान बिक्री गरेको नगरपालिकाले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नगरपालिकाले सबै मापदण्ड अनिवार्यरूपमा पूरा गरेर मात्र व्यापार व्यवसाय सञ्चालन व्यवसायीलाई सचेत गराएकोÞ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>