Breaking News

नारायणगढमा कालोबजारी बढ्यो, खसीको भन्दै बाख्रीको मासु बिक्री

Banner

चितवन, असोज १९

दसैँतिहार जस्ता ठूला चाडपर्व नजिकिएसँगै नारायणगढमा कालोबजारी बढेको छ । भरतपुर महानगरले गरेको बजार अनुगमनमा व्यवसायीले मनपरी गरेको भेटिएको हो ।

महानगरले हरेक दिन बजारका पसल तथा फर्महरुमा पुगेर नियमित अनुगमन गरी दोषी देखिएकोलाई कारबाही गर्ने गरेको जनाएको छ । चाडपर्व नजिकिएसँगै बजारमा महंगी तथा कालोबजारी बढेको जनगुनासो आएपछि महानगरले महानगरका राजस्व शाखा प्रमुख बिशुराम कुँवरको नेतृत्वमा सर्वपक्षीय टोली गठन गरी नियमित बजार अनुगमन गरिरहेको हो । महानगरले बजारमा खाद्य, माछा, मासु तथा अरु सर्वसाधारणले बढी खपत गर्ने वस्तुहरुको बिक्री केन्द्रमा अनुगमन गरिरहेको जनाएको छ ।

कोरोनाको महामारीले आममानिसको हातमुख जोर्न समेत असहज भइरहेको अवस्थामा बजारमा महंगी बढाएर उपभोक्तामाथि ठगी गर्ने गरेको धेरै गुनासो तथा उजुरीहरु आउन थालेपछि उपभोक्तामैत्री बजार बनाउन महानगरले नियमितरुपमा बजार अनुगमन गरी ब्यवसायीलाई खबरदारी गरिरहेको र कैफियत पाइएमा कसुरका आधारमा आवश्यक दण्ड, जरिवाना गर्ने गरिएको महानगरका अनुगमन अधिकारी कुँवर बताउनुहुन्छ ।

महानगरपालिकाको क्षेत्रभित्रका सबै व्यवसायीले महानगरको प्रचलित ऐन कानुन अनुसार दर्ता भएर व्यवसाय गरेका छन् कि छैनन् ? तोकिए बमोजिमको सेवा दिएको छ कि छैन ? गुणस्तरमा कति ध्यान दिइएको छ भनेर आफूहरुले अनुगमनमा हेर्ने र कमी देखिएमा कारबाही गरिँदै आएको अनुगमन अधिकारी कुँवर बताउनुहुन्छ । व्यवसायीलाई करको दायरामा ल्याउने, गुणस्तरमा ध्यान दिँदै उपभोक्तामैत्री बजार बनाउन आफूहरु खटिइरहेको कुँवरको भनाइ छ । जालझेल, छलकपट नगरी इमानपूर्वक ब्यवसाय गर्न कुँवरले आग्रह गर्नुभयो ।

बन्द गराइयो माछा पसल

अनुगमन टोलीले कमलनगरको तरकारी बजारमा जोडिएको आलम फिस सप्लाईलाई बन्द गराएको छ । यसले बिनादर्ता पसल सञ्चालन गरेको पाइएपछि बन्द गराइएको कुँवरले जानकारी दिनुभयो । पसल सञ्चालकलाई कागजातसहित महानगरमा आउन निर्देशन दिएको र उसको कसुर अनुसारको दण्ड, सजाय हुने उहाँको भनाइ छ । आलमले फर्मालिन हालेको गुणस्तरहीन माछा बिक्री गर्ने गरेको गुनासो आएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका वरिष्ठ उपाध्यक्ष बिष्णु भुसालले बताउनुभयो ।

टोलीले त्यहाँ खुलारुपमा निकै फोहोरो स्थानमा बाख्रीको मासु बिक्री गर्ने गरेको पनि भेटाएको थियो । त्यहाँ रहेका आधा दर्जन पसलले बाख्रीको मासु बिक्री गर्ने गरेको भेटिएको र सबै पसलेलाई आवश्यक कागजातसहित महानगरमा आउन भनिएको छ । उनीहरुले महानगरमा बाख्राको मासु पसल दर्ता गरेर बिक्री गरेको बताएका थिए । उनीहरुले दर्ताबिनै ब्यवसाय गरेको, कर नतिरी ब्यवसाय गरेको पाइए ब्यवसाय बन्द गरी आवश्यक कारबाही गरिने कुँवर बताउँछन् ।

प्याजमा तौल घटाएर ठगी

अनुगमन टोलीले नारायणगढको आलु तथा प्याज मण्डीमा पनि अनुगमन गरेको थियो । केही दिनअघि जिल्ला प्रशासन कार्यालयले पनि अनुगमन गरी केही ब्यवसायीलाई जरिवाना लगाएको भए पनि त्यहाँका ब्यवसायीले अझै पनि ठगी गरिरहेको भेटिएको छ । टोलीले अनुगमन गर्दा अर्जुन शाहले सञ्चालन गरेको जय सन्तोषी माँ स्टोर्सले प्याजमा तौल घटाएर बिक्री गरेको भेटिएको हो । १८ केजी भनेर बिक्री गरेको प्याजमा १७ केजी ३०० ग्रामसम्म मात्रै तौल रहेको भेटिएको थियो ।

त्यहाँ राखेका सबैजसो बोराहरु तौल गर्दा प्रत्येक बोरामा ५ सयदेखि ८ सय ग्रामसम्म तौल कम भएको भेटिएको थियो । टोलीले अरु ब्यवसायीको गोदाममा पनि तौल गरेर हेर्दा अरुमा तौलमा कैफियत नदेखिएको अनुगमन टोलीका सदस्य विष्णु भुषालले बताउनुभयो । नियतवश नै तौल घटाएर ठगी गरिएकाले यसलाई कालोबजारी तथा ठगी मुद्दामा कारवाही गर्नुपर्ने भुसाल बताउनुहुन्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले उपभोक्ता स्वास्थ्यमा खेलवाड गर्ने, कालोबजारी गरी कृत्रिम अभाव सिर्जना गर्ने जोकोही भए पनि कडाभन्दा कडा कारबाही गरिने बताउनुभयो । यो असहज अवस्थामा संयमित भएर मर्यादित तवरबाट ब्यवसाय गर्न उहाँले ब्यवसायीलाई आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>