चितवन विशेष
दसैँतिहारका लागि भरतपुरको जेम्स वल्ड फन पार्कमा छुटको प्याकेज

भरतपुर, असोज १७-
दसैँतिहारलाई लक्षित गरेर भरतपुर महानगरपालिका–४ लंकुमा रहेको जेम्स वल्ड फन पार्कले छुटको प्याकेज सार्वजनिक गरेको छ ।
फन पार्कले सार्वजनिक गरेको प्याकेजमा असोज र कात्तिकमा किनेको टिकट पुस र माघ महिनासम्म दुईपटक प्रयोग गर्न मिल्ने प्रावधान राखिएको छ । त्यसैगरी चार फिटसम्मको बालबालिकालाई निःशुल्क, पाँचवटा टिकट किन्दा एउटा निःशुल्कको पनि व्यवस्था गरिएको पार्कका अध्यक्ष महेश तिवारीले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । त्यसैगरी फनपार्कले ल्याएको छुटको प्याकेजमा कोरोना महामारीमा अग्रमोर्चामा खटिएका पत्रकार, स्वास्थ्यकर्मी, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, सरकारी कर्मचारीलगायत अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिका परिवारका सदस्यले आश्विन र कात्तिक महिनाभर निःशूल्क रूपमा पार्क प्रवेश गर्न पाउनेछन् ।
सो अफर उपभोग गर्न अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिले परिचयपत्र भने साथमा ल्याउनुपर्ने पार्कले जनाएको छ । सो टिकट भने नच्यातिएको हुनुपर्नेछ । ६ महिनादेखि कोरोनाको कारणले बन्द भएको फन पार्क जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी गत हप्तादेखि सञ्चालनमा आएको थियो । आर्थिक गतिविधिलाई चलायमान गराउन र हालको अवस्थालाई बिस्तारै सामान्यतर्फ उन्मुख गराउन पनि सरकारले जनस्वास्थ्यका नियम पालना गर्दै पेसा तथा व्यवसाय सञ्चालनका लागि अनुमति दिएको थियो ।
पार्कमा साबुनपानी, सेनिटाइजर तथा मास्कको प्रयोगलाई अनिवार्य बनाइएको छ । मूल गेटबाट पार्क प्रवेश गर्दा तथा बाहिर निस्कँदा साबुनपानीले अनिवार्य हात धुनुपर्ने नियम बनाइएको पार्कका अध्यक्ष महेश तिवारीले बताउनुभयो । मुख्य प्रवेशद्वारमा हरेक सेवाग्राहीको तापक्रम नापिने र व्यक्तिको परिचयात्मक विवरण समेत भर्न लगाइने पार्कले जनाएको छ । त्यस्तै, टिकट काट्न लाइनमा बस्दा सेवाग्राहीले कमसेकम दुई मिटरको दूरी कायम गर्नुपर्नेछ । पार्कमा ड्राइ गेम्सको सुरुवात गरिएको भए पनि स्वीमिङ पुल तथा वाटर गेम भने हालै सञ्चालनमा नल्याइने तिवारीले बताउनु भयो । पार्कभित्र विभिन्न खेल खेल्ने अवधिभर मास्कको प्रयोगलाई पनि अनिवार्य गरिएको छ । यस्तै कर्मचारीका लागि मास्क, फेस सिल्ड तथा सेनिटाइजरको व्यवस्था गरिने पनि पार्कले प्रष्ट पारेको छ ।
























