देश/प्रदेश

वीर अस्पतालमा भएको जयसवाल मृत्यु प्रकरणमा संसदीय छानबिनको माग

Banner

काठमाडौं, असोज ११-

नेपाल कलवार कल्याण समिति, काठमाडौंले वीर अस्पतालमा उपचारको क्रममा निधन भएका रामलखन जयसवालको मृत्यु प्रकरणबारे सत्य, तथ्य कुरा बाहिर ल्याउन सरकारसँग माग राखेको छ ।

समितिले जयसवालको के ? कसरी मृत्यु भएको हो ? त्यसमा संसदीय छानबिन आयोग गठन गर्नुपर्ने पनि माग गरेको छ । आइतबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर समितिले जयसवालको परिवारलाई उचित क्षतिपूर्तिसहित न्यायको व्यवस्था गर्नुपर्ने माग गरेको हो । समितिका अध्यक्ष रामचन्द्र साहले जयसवालको परिवारले उचित न्याय पाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘सरकारले पीडित परिवारलाई न्याय दिनुपर्छ । सरकारले यो विषयमा पर्याप्त ध्यान दिनुपर्छ । परिवारले अघि सारेका मागहरु चाँडोभन्दा चाँडो सम्बोधन हुनुपर्छ ।’

उहाँले पोष्टमार्टमको रिपोर्ट पनि चाँडै सार्वजनिक गर्न आग्रह गर्नु भएको छ । न्यायका लागि जयसवाल परिवार धेरै दिनदेखि काठमाडौंमा रहेकोले आफ्नो परम्पराअनुसार अन्त्येष्टि गर्नको लागि शव पनि चाँडै रिलिज गर्न सरकारसँग समितिले आग्रह गरेको छ ।

कार्यक्रममा मृत्तक जयसवालकी भाई बुहारी पुनम जयसवालले यो प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कठोरभन्दा कठोर सजाय दिन माग गर्नु भएको छ । उहाँले भन्नुभयो,‘गृहमन्त्रीज्यू, चाँडोभन्दा चाँडो छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्नुहोस्, यो जेल र वीर अस्पताल बद्नाम नहोस् ।’ उहाँले वीर अस्पतालले किन अहिलेसम्म सीसीटीभी फुटेज ननिकालेको भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले मृत्तक जयसवालको पोष्टमार्टम भैसक्दा पनि अहिलेसम्म रिपोर्ट नदिइएको गुनासो गर्नुभयो ।

कार्यक्रममा प्रथम उपाध्यक्ष अवलेशप्रसाद गुप्ता, द्वितीय उपाध्यक्ष चन्द्रेश्वरप्रसाद साह, महासचिव रामबाबु चौधरी, सचिव महेन्द्र चौधरी र सदस्यहरु रञ्जु जयसवाल, दिनेश जयसवालको उपस्थिति थियो । समितिले जयसवाल परिवारलाई न्याय दिलाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रसमेत बुझाएको छ। उसले काठमाडौं सिडिओ कार्यालयमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>