खैरहनी

खैरहनीमा कोरोनाको जोखिम बढ्यो

Banner

ध्रुवराज खनाल

चितवन, असोज ७–

चितवनको खैरहनी नगरपालिकामा पछिल्लो एक महिनामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । संक्रमण देखिएको तीन महिनासम्म फाट्टफुट्ट मात्र रहे पनि भदौ र असोज पहिलो सातामा संक्रमितको संख्या ह्वात्तै बढेको हो ।

खैरहनीमा पहिलो पटक जेठ २६ गते एक डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको थियो । जेठमा १ जना, असारमा ३ जना र साउनमा ४ जनामा संक्रमण देखिए पनि भदौमा त्यो संख्या कयौं गुणा बढ्न पुग्यो । स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले भदौ र असोज पहिलो साता १०५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । भदौ महिनामा ६८ जना र असोज पहिलो साताको ६ गतेसम्म ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नगरपालिका सामाजिक विकास समिति संयोजक समेत रहनु भएका वडा नम्बर ७ का वडा अध्यक्ष मनेजर महतोले निषेधाज्ञा खुकुलो भएसंगै संक्रमितको संख्या ह्वात्तै बढेको बताउनुभयो । ‘निषेधाज्ञा खुकुलो हुनु कोरोना संक्रमितको संख्या बढ्नुको मुख्य कारण हो’ समिति संयोजक महतोले भने ‘सर्वसाधरणले पनि स्वास्थ्य मापदण्ड पूरा नगरि हेलचत्र्याइ गरिरहेका छन्, नगरपालिका, प्रहरी प्रशासनले सचेतना फैलाउदा पनि अटेरी गरिएको छ ।’ लामो समयको लकडाउन र पछिल्लो निषेधाज्ञाले मजदुरी गरेर जीवन निर्वाह गर्नेहरु र अन्य बीच सम्पर्क हुन पुग्दा समुदायमा संक्रमण फैलिएको उहाँको बुझाइ छ ।

कोरोना संक्रमण देखिएको एउटै घरमा ५/६ जनालाइ नै संक्रमण पुष्टि समेत भएको छ । सम्पर्क परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

यो एक महिनाको अबधिमा खैरहनीमा स्वास्थ्यकर्मी, नगरपालिका कर्मचारी र जनप्रतिनिधिलाई पनि कोरोना पुष्टि भएको छ । खैरहनी नगरपालिकामा वडा नम्बर ६ मा सबैभन्दा धेरै २० जना तथा वडा नम्बर ५ र ११ मा सबैभन्दा कम २/२ जनामा संक्रमण देखिएको छ ।

असोज ६ गते सम्मको तथ्यांक अनुसार कुल ११३ जनामा संक्रमण पुष्टि हुँदा ३१ जना निको भएर घर फर्किएको र २ जनाको मृत्यु भएको छ । हाल होम आइसोलेसनमा ६२ जना, सामुदायिक आइसोलेसनमा ६ जना र अस्पताल आइसोलेसनमा १२ जना छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>