देश/प्रदेश
निर्वाचन गर्न निजामती कर्मचारी संघको माग

काठमाडौं, असोज ७
सरकारकाले बिनाकारण आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेको भन्दै नेपाल निजामती कर्मचारी युनियन (संघ) ले गम्भीर आपत्ति जनाएको छ ।
संघले आज (बुधबार) रिपोटर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर निर्वाचन स्थगित गरिएकोमा आपत्ति जनाएको हो । उसले अविलम्ब निर्वाचन गर्न पनि माग गरेको छ ।
कार्यक्रममा संघका अध्यक्ष गोपालप्रसाद पोखरेलले निर्वाचन कार्यालयहरु तोकिएर निर्वाचन प्रक्रिया अघि बढाइएको अवस्थामा सरकारले सरोकारवालाहरुसँग परामर्श, छलफल र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित गरेको भन्दै गम्भीर आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो,‘मतदाता नामावली प्रकाशित गरेर निर्वाचन प्रक्रियामा अघि बढेको अवस्था थियो । तर, सरकारले एकाएक कसैसँग पनि सरसल्लाह र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित गर्ने निर्णय ग¥यो । यो लोकतन्त्रमाथिको धावा हो ।’ उहाँले निर्वाचन स्थगित गरेको विषयलाई संविधानको भावना र कानुनविपरित भएको पनि टिप्पणी गर्नभयो ।
अध्यक्ष पोखरेलले आफूहरु ट्रेड युनियनको अधिकार रक्षा हुनुपर्ने पक्षमा रहेको सुनाउनु भयो । उहाँले भन्नुभयो,‘सरकारले एक्कासी निर्वाचन स्थगित गरेर गम्भीर त्रुटी गरेको छ । सत्तारुढ निकट ट्रेड युनियन संगठनहरुबीच एकता भएको छैन । उहाँहरुको आन्तरिक लडाइ हो । उहाँहरुले हार्ने निश्चित भएपछि सरकारलाई ब्रिफिङ गरेर चुनाव स्थगित गरिएको हो ।’ अध्यक्ष पोखरेलले चुनाव स्थगित गर्नुको दुई आरोप लगाउनुभयो । उहाँले भन्नुभयो,‘उहाँहरुको एक संगठन हुन नसक्नु र अर्को भनेको आफू पराजित हुने डर नै हो ।’ सरकारले लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडान नमिल्ने उहाँको भनाइ छ ।
कार्यक्रममा आधिकारिक ट्रेड युनियनका महासचिव सुवोधकुमार देवकोटाले चाँडोभन्दा चाँडो निर्वाचन सुनिश्चित गरिनुपर्नेमा जोड दिनु भएको छ । उहाँले सरकारले एक्कासी निर्वाचन स्थगित गरेको निर्णय आपत्तिजनक भएको पनि टिप्पणी गनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन स्थगित गर्ने सरकारको निर्णयमा सहमत हुन सकिँदैन् ।’

























