समाचार
चिनियाँ दूतावास भन्छ : नेपाली भूमिमा भवन बनाएका छैनौं, नेपालले थप प्रमाणीकरण गर्न सक्छ

काठमाडौं, असोज ७-
हुम्लाको लाप्चास्थित नेपाली भूभागमा चीनले भवनहरू बनाएको भन्ने खबरको काठमाडौंस्थित चिनियाँ दूतावासले खण्डन गरेको छ।
चीनले नेपालसँग जोडिएको कुनै पनि ठाउँमा भौगोलिक विवाद नरहेको दाबी गरेको छ ।
दूतावासका प्रवक्ताले मंगलबार राति पठाएको विज्ञप्तिमा चीनले भवन बनाएको भूभाग चीनकै रहेको र यसबारे नेपालले थप प्रमाणीकरण गर्न सक्ने जनाइएको छ।
दूतावासले चीन र नेपालबीच कतै पनि सीमा विवाद नरहेको दोहोर्याएकाे छ।
यस्तो छ दूतावासका प्रवक्ताको छोटो विज्ञप्तीको पूर्णपाठ :
‘चीन र नेपाल मित्रवत छिमेकी हुन्। चीनले नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सधैं सम्मान गर्दै आएको छ। मिडियामा उल्लेख गरिएका भवनहरू चीन–नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ। नेपाली पक्षले फेरि प्रमाणिकरण गर्न सक्नेछ। चीन र नेपालबीच सीमा विवाद छैन। दुवै पक्षले सीमा मामिलामा सधैं नजिक रहेर सूचना आदानप्रदान गर्दै आएका छन्।’
हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएको बेला चीनको सो धारणा आएको हो ।

























