राजनीति
म चाँडै स्वदेश फर्कने छु: शेरबहादुर देउवा

काठमाडौं, साउन ५-
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू स्वास्थ्य उपचारपछि चाँडै स्वदेश फर्किने बताएका छन्। हाल उपचारका लागि विदेशमा रहेका देउवाले बीपी स्मृति दिवसका अवसरमा जारी गरेको वक्तव्यमा लोकतन्त्र, संविधान र जनताको अधिकारको रक्षाका लागि पुनः नेपाली भूमिमा फर्किन लागेको सन्देश दिएका हुन्।
करिब छ दशकभन्दा बढीको राजनीतिक यात्रालाई स्मरण गर्दै लोकतन्त्रको पक्षमा आफ्नो अडान कहिल्यै नडगमगाउने बताउँदै देउवाले पछिल्लो समय मुलुकमा प्रतिशोधको राजनीति बढ्दै गएको भन्दै लोकतान्त्रिक मूल्य र मान्यतामाथि चुनौती देखिएको उल्लेख गरेका छन्।
देउवाले फरक विचारप्रति राज्यले देखाउने असहिष्णुता र राज्यशक्तिको प्रतिशोधपूर्ण प्रयोग लोकतान्त्रिक समाजका लागि स्वीकार्य हुन नसक्ने बताए। स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायहरूलाई दबाबमा राखेर प्रतिपक्षलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप पनि उनले लगाएका छन्।

























