राजनीति
धर्नामा बसेकी विनु र महिलामन्त्री वादीबीच भेटवार्ता

काठमाडौं, साउन ५-
सिंहदरबारको मूल प्रवेशद्वारमा विगत आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले भेटवार्ता गरेकी छन्।
मन्त्रालयमा भएको भेटका क्रममा यादवले आफ्नो मुद्दासँग सम्बन्धित न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका मागबारे मन्त्री बादीलाई जानकारी गराएकी थिइन्। उनले यसअघि सरकार पक्षसँग भएको सहमति कार्यान्वयनका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्रालयमा लिखित निवेदनसमेत बुझाएकी छन्।
मन्त्री बादीले यादवले उठाएका विषयप्रति मन्त्रालय संवेदनशील रहेको बताउँदै मन्त्रालयको कार्यक्षेत्रभित्र पर्ने विषयमा आवश्यक पहल, समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
उनले सम्बन्धित निकायसँग समन्वय गरी कानुनबमोजिम प्रक्रिया अघि बढाउन मन्त्रालयले आफ्नो भूमिकाअनुसार सहयोग गर्ने बताइन्।
भेटका क्रममा यादवको स्वास्थ्य अवस्था, आवश्यक सहयोग तथा जीविकोपार्जनसँग सम्बन्धित विषयमा समेत छलफल भएको थियो। मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिर रहेका विषयलाई सम्बन्धित निकायमा आवश्यक पहलका लागि पठाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री बादीले नागरिकका गुनासा र सरोकारप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै संवाद, समन्वय र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्नु सरकारको दायित्व भएको बताइन्।

























