समाचार

सीमा क्षेत्रमा माछा मार्न गएका चार नेपाली भारतीयको नियन्त्रणमा

Banner

कञ्चनपुर, असोज ६-

माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन् । गाउँपालिकाको वडा नं ५ नजिकको खल्लाबाट चारै जनालाई भारतीयले नियन्त्रणमा लिएका हुन् ।

सीमास्तम्भ नम्बर ७८५÷२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्नका लागि गएका २६ वर्षीय वीरेन्द्र खत्री, २५ वर्षीय भोजराज रोकाया, ३२ वर्षीय मानबहादुर सुनार र ४० वर्षीय पदम सुनारलाई दुई भारतीयले नियन्त्रणमा लिई भारततर्फ लगेका छन् ।

नियन्त्रणमा लिइएका व्यक्तिहरुसँग भारतीय पक्षले जनही रु २० हजार फिरौती रकम मागेको खबर निजका परिवारजनबाट सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) बेलडाँडीमा प्राप्त भएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताउनुभयो ।

बिओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक गङ्गादत्त बोगटीको कमाण्डमा गएको सात जनाको टोलीले भारतीय एसएसबीको टाटरगञ्जसँग समन्वय गरिरहेको छ । उहाँले भन्नुभयो, “भारतीयहरुले नियन्त्रणमा लिएका व्यक्तिहरुबारे खोजबिन गरिरहेका छौँ ।”

यसैगरी पुनर्वास नगरपालिका–८ मोतियाफाँटबाट भारतको जङ्गलबाट काठ काट्दै गरेको अवस्थामा पृथ्वी बस्तीका ३५ वर्षीय डम्बरे सुनारलाईे हिजो साँझ नै भारतीय वन रक्षक सुमेरनगरको टोलीले नियन्त्रणमा लिई पलियातर्फ लगेको छ ।

डम्बरेका बुवा थले सुनारले दशगजा नजिकैको सीमास्तम्भ नम्बर ७६६÷७ को नजिकै रहेको नालामा माछा मार्ने क्रममा भारतीय वनरक्षकले नियन्त्रणमा लिएर लगेको भनी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा निवेदन दिनुभएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>