समाज

सामूहिक बलात्कार गरी फरार रहेका १२ वर्षपछि पक्राउ

Banner

मङ्गलबारे, असोज ६ –

इलाममा जबर्जस्ती करणी गरी फरार रहेका दुई अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामले चुलाचुली–३ का ३० वर्षीय मिलन भनिने अनिश राई र ३१ वर्षीय जितकुमार भनिने निश्चल राईलाई पक्राउ गरेको हो । फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने अभियानअन्तर्गत अदालतबाट दोषी प्रमाणित भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विसं २०६४ मा झापा साधुहोली जङ्गलमा सामूहिकरूपमा जबर्जस्ती करणी गरी फरार रहेका इलामका उनीहरुलाई विशेष खोजी अभियान नै सञ्चालन गरेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दुवैलाई २०६७ फागुन ११ गते जिल्ला अदालतबाट ११ वर्ष एक महिना १५ दिन कैद र जनही रु २१ हजार जरिवाना तोकिएको थियो ।

दुवैलाई जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तानका लागि सोमबार कारागार कार्यालय इलाममा पठाइएको प्रहरीले जनाएको छ । उक्त मुद्दामा एक जना हाल जिल्ला कारागार इलाममा कैद भुक्तान गरिरहेका छन् । एक जना अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्य तीनसमेत पक्राउ

त्यसैगरी ठगी मुद्दा, कर्तव्य ज्यान मुद्दा र हातहतियार खरखजना मुद्दाका फरारहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी कार्यालयबाट खोजतलासका क्रममा ठगी मुद्दाका इलाम सुर्योदय नगरपालिका–२ का ३२ वर्षीय सन्तोष बस्नेत, हातहतियार खरखजना मुद्दाका इलाम सुर्योदय नगरपालिका–५ का ४४ वर्षीय मोटे देवान भन्ने हर्कबहादुर लिम्बू र कर्तव्य ज्यान मुद्दाका माईजोगमाई गाउँपालिका–२ का विष्णुकुमार राई पक्राउ परेका हुन् ।

बस्नेतलाई दुई वर्ष कैद र रु २० हजार जरिवाना, लिम्बूलाई तीन महिना कैद र पाँच हजार जरिवाना तथा राईलाई पाँच महिना छ दिन कैद र रु २० जरिवाना तोकिएको थियो । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय इलामले फरार रहेका अभियुक्तहरुलाई खोजीखोजी पक्राउ गरिरहेको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>