देश/प्रदेश
नेपाल रेल्वे कम्पनीले माग्यो १२९ कर्मचारी

जनकपुरधाम, भदौ २९-
नेपाल रेल्वे कम्पनी लिमिटेडले २९ वटा पदपूर्तिका लागि विज्ञापन खुलाएको छ ।
जनकपुर–जयनगर रेल सञ्चालनको लागि कम्पनीले विभिन्न २९ वटा पदपूर्तिका लागि १२९ जना कर्मचारी माग गरेको हो।
कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरू परिपूर्तिका लागि सोमबार विज्ञापन प्रकाशित गरेको छ। यसमा सामान्य लेखपढ गर्नेदेखि लिएर स्नातक गरेकाहरूले समेत सहभागिता जनाउन सक्नेछन्।
यसैगरी कम्पनीले प्रशासनतर्फ एक जना शाखा अधिकृत, कानूनतर्फ १ जना अधिकृत र तीन जना स्टेसन मास्टरको माग गरेको हो।
सव इन्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहायक, टिकट कलेक्टर, हेल्पर, कार्यालय सहयोगीलगायतको पदका लागि समेत विज्ञापन आह्वान गरिएको छ।
आवेदकले असोज १२ गते भित्र रेल्वे कम्पनीको वेबसाइटमार्फत् विभिन्न विज्ञापनमा अनलाइन दरखास्त भर्न सक्ने जनाएको छ। कम्पनीले अधिकृतको लागि १००० रुपैयाँ, सहायक स्तरको लागि ४०० रुपैयाँ र श्रेणी विहिन स्तरको लागि ३०० रुपैयाँ दस्तुर तोकेको छ।
























