Breaking News

चितवनका डाक्टर भन्छन् : भेन्टिलेटरमा छट्पटाएका कोरोना संक्रमितलाई हेर्नुहोस्, सारा भ्रम हट्छ

Banner

चितवन, भदौं १४-

चितवनमा कोरोनाको संक्रमण बढ्दै गएपछि अहिले स्वास्थ्यकर्मीहरुनै संक्रमित भएर आइसोलेसनमा बस्नुपर्ने बाध्यता छ । कोरोना नियन्त्रणमा अग्र मोर्चामा खटिएका कतिपय डाक्टर र नर्सहरुले आफ्नो भावना सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा अभिव्यक्त गर्ने गरेका छन् । त्यस्तै मध्येका एक डाक्टर अरुण सेढाइँ हुनुहुन्छ ।

उहाँ पेसाले मृगौला रोग विशेषज्ञ हुनुहुन्छ तर पनि हरेक दिन मृगौला रोगीहरुको उपचारमा खटिँदा उहाँले चितवन मेडिकल कलेजमा कोरोना संक्रमित बिरामीहरुलाई पनि हेर्नुपर्ने हुन्छ । चितवनबासीलाई कोरोना भाइरसबारे सचेत र सजग बनाउन उहाँ नियमित फेसबुकमा जनचेतनामूलक भिडियो र स्टाटसहरु पोष्ट गरिरहनुहुन्छ । उहाँका हरेक पोष्टहरुले चितवनमा कसरी कोरोना संक्रमण फैलिँदै गएको छ भन्ने विषयको गाम्भीर्यतालाई बुझ्न सहयोग पुग्छ ।

डाक्टर अरुण सेढाइँले आइतबार बिहान फेसबुकमा एउटा स्टाटस पोष्ट गर्नुभयो । जसले कोरोना सामान्य रुघाखोकी हो भन्दै बेवास्ता गर्ने नागरिकलाई सन्देश दिन खोजेको देखिन्छ । उहाँले कोरोना भ्रम हो भन्नेहरुलाई पोष्टमा जवाफ दिनुभएको छ , ‘ अझै पनि कोरोना संक्रमण भ्रम हो जस्तो लाग्छ भने सविनय अनुरोध छ, सो भ्रम हटाउनोस् । एकपटक भेन्टिलेटरमा रहेका कोरोना लागेका बिरामीको छट्पटाहट नजिकबाट अनुभव गरिदिनोस् र तिनीहरुको परिवारको पीडालाई बुझिदिनोस् । अझै त्यत्तिले पनि चित्त बुझेन भने आफै संक्रमित भएर जीउमा अक्सिजनको मात्रा ३२५ पु¥याएर अनुभव गर्नाेस्, अनि सारा भ्रम आफै सेलाएर जानेछन् ।’ उहाँले स्टाटसमा ‘हाम्रो त कामना, प्रार्थना र प्रयास रहनेछ, यस्तो कसैलाई नपरोस्’ भन्ने कामना पनि गर्नुभएको छ ।

सो स्टाटस लेखेको एक दिन पहिले शुक्रबार उहाँले कोरोना संक्रमणको वर्तमान अवस्थाबारे आफ्नो अनुभव सामाजिक सञ्जालमा सेयर गर्नुभएको छ । डा सेढाइँले अस्पतालको सघन उपचारमा रहेका कोरोना संक्रमित बिरामीहरुको अवस्था हेरेर इटाली र बेलायतको अवस्थासँगै तुलना गर्ने प्रयास गर्नुभएको छ । उहाँले कोरोनाको महामारीलाई हेलचक्र्याइँ नगर्न पनि सबैमा अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘

भर्ना भएका ४२ जनामध्ये १२ जना आईसीयूमा छन्, जसमध्ये ८ जना भेन्टिलेटरको सहायतामा कृत्रिम श्वास प्रश्वास गरिरहेका छन्। अधिकांश बिरामी कोमामा छन् । भेन्टिलेटरको एकोहोरो ट्याँट्याँ टुँटुँको कर्कस आवाजले समेत उनीहरूको बेहोसीलाई खल्बल्याउन सकेको छैन। भेन्टिलेटरमा नहुनेहरु पनि अक्सिजनको सहारामा छट्पटी रहेका छन् ।

डाक्टर, नर्स र अन्य सहयोगीहरू आफ्नो ज्यानको बाजी लगाएर अहोरात्र खटिइरहेका छन् र एउटै अस्पतालका २० जना नर्स र डाक्टर संक्रमित भएर आइसोलेसनमा छन्। सुन्दाखेरि नै आङ् नै जिरिङ्ग हुने यो परिदृष्य चाइना, इटाली, अमेरिका वा बेलायतका अस्पतालको कहानी होइन, हामीले प्रत्यक्ष संघर्ष गरिरहेको दैनिकी हो । अस्तिसम्म आफैलाई अपत्यारिलो लाग्ने घटनासँग प्रत्यक्ष जुधिरहेको परिदृष्य हो यो ।
कोरोनासँगको वास्तविक लडाईँ बल्ल सुरु भएको छ र क्रमशः उत्कर्षतिर लक्षित हुँदैछ र त्यतिबेला स्थिति अरू भयावह हुनेवाला छ, जतिबेला आईसीयूका बेडहरू पूर्णतः भरिइसकेका हुनेछन्, भेन्टिलेटरहरू एउटा पनि खाली नभेटिन सक्नेछन् र फोक्सोको दुवैतिर भएको निमोनियाले गर्दा जिउमा अक्सिजनको मात्रा कमी भएर प्याक्प्याक् पर्दै इमर्जेन्सीमा बिरामीहरू छट्पटिइरहेका हुनेछन्।

‘हामीकहाँ कोरोना त्यति फैलँदैन वा फैले पनि त्यति खतरनाक हुने छैन’ भनेर मनगढन्ते गफ छाँट्दै सुरक्षाका न्यूनतम उपाय पनि नअपनाई खुल्लमखुल्ला हिँड्नेहरूलाई यसले चुपचाप गतिलो जवाफ फर्काइरहेको छ। कमसेकम आफू र आफ्ना परिवारलाई जोगाउनकै लागि भए पनि भीडमा नजानूस्, मास्कको प्रयोग कदापि नछोड्नोस् र मनोबल उच्च राख्दै सम्हालिनोस्।’ डा सेढाइँले चितवन मेडिकल कलेजमा कोरोना महामारीसँग अग्रमोर्चामा रहेर जुध्दा अनुभव गरेका विषयहरु यी हुन् । उहाँले आफूले कसैलाई त्रासमा राख्न यस्ता स्टाटस नलेखी आम मानिसलाई कोरोना महामारीबारे सचेत गराउन र भ्रमलाई चिर्न लेख्ने गरेको नारायणी अनलाइनलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘सुरुमा सबैले कोरोना संक्रमणलाई सामान्यरुपमा लिने गरेका थियौं । अहिले दिनकै चितवनमा २–३ जनाको मृत्यु हुन थालिसकेको छ । यसको उपचार के हुन्छ ? कसरी हुन्छ ? अन्यौल रहेको छ ।’ उहाँले कोरोना संक्रमित बिरामी निको भए पनि काटेको घाउँको दाग जस्तै फोक्सोमा दाग देखिने गरेको बताउनु भयो । जसले दीर्घकालसम्म असर पार्न सक्ने उहाँको दाबी छ ।

चितवन मेडिकल कलेजले कोरोनाको परीक्षण र कोरोना संक्रमितको उपचार गर्न थालेको एक महिना पनि भएको छैन । अहिले चितवन मेडिकल कलेजमा ९ जना बिरामी भेन्टिलेटरमा छन् भने २० जना बिरामी उपचाररत छन् । त्यसैगरी २३ जना जति स्वास्थ्यकर्मीहरु आइसोलेसनमा रहेका छन् । डा अरुण सेढाइँले कोरोना संक्रमित बिरामीको उपचारमा खटिन जाँदा पीपीई लगाएर वार्डमा जाँदै गर्दा फोटोसहित ६ दिन पहिले स्टाटस लेख्नुभएको थियो । जसमा भनिएको छ, ‘ विध्वंशकारी कोरोनाको महामारी सँग यसरी जुध्दै गर्दा कथंकदाचित संक्रमणले हामी आफैलाई छोएको खण्डमा कृपया

अवहेलना नगरिदिनुस् है?
घरबाट गलहत्याएर ननिकालि दिनुस् है?
ब्यानर बनाएर घर अगाडि नटाँसिदिनुस् है?
हाम्रो परिवारलाई वहिष्कार नगरिदिनुस् न है?

हजुरहरुको साथ नै नरहे हाम्रो आफ्नो भन्ने नै को छ र?’ भन्ने उल्लेख गर्नुभएको छ । जसले स्वास्थ्यकर्मीहरुमाथि देशभर नै भइरहेको दुव्र्यवहारलाई संकेत गर्छ । उहाँले कोरोनाको पर्खाइमा बस्दा बस्दै आवश्यक पूर्वाधारहरुको देशमा विकास गर्न नसकेकोमा लक्षित गर्दै भन्नु भएको छ, ‘ सुरुमा अरु देशमा देखियो । हाम्रो देशमा त देखिएको छैन नि भन्ने सोचियो बेवास्ता गरियो । देशमै देखिन थाल्यो । अलि अलि त हो नि, त्यो नि विदेशबाट आउनेलाई मात्र हो भनियो, नीच मारियो। देशभित्रै फैलिन थाल्यो । ए ! हाम्रो जिल्लामा त देखिएको छैन नि भन्ठानियो । सामान्य नियमको पालना छोडियो। छिमेकमा देखियो । हाम्रो घरमा त होइन नि भन्ने सोचियो, बेवास्ता गरियो। अब घरमै देखिनेछ । अनि हामी सोच्नेछौँ ‘अर्को फ्ल्याटमा बस्नेलाई त हो नि, हाम्रो फ्ल्याटमै त होइन नि ।
फ्ल्याटमै देखिएसि भन्ने छौँ । अर्को कोठामा बस्नेलाई त हो नि । परिवारभित्रै देखिएपछि फेरि ठान्नेछौँ । ह्या मलाई त भाको होइन नि। यो मान्छेको मन नै उस्तै। पराईको बाख्रा खाएको बाघले एकदिन अवश्य आफ्नो खोरको बाख्रा पनि ताक्छ भनेर कहिल्यै सोचेन ।’ उहाँले यसरी कोरोनाको बारेमा अभिव्यक्त भएको सामाजिक गैरजिम्मेवारीपनलाई लक्षित गर्नु भएको छ ।

प्रस्तुति: मधुसूदन दवाडी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>