Breaking News
चितवनमा कोरोना संक्रमितको संख्या ३६८ पुग्यो, तीन जनाको मृत्यु

चितवन, भदौं ८–
चितवनमा हरेक दिन कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गइरहेको छ । सरकारी ल्याबमा निःशुल्क परीक्षण देखि निजी अस्पतालमा समेत शुल्क तिरेर परीक्षण हुन थालेपछि चितवनमा संक्रमितको संख्या ह्वात्तै बढ्दै गएको हो ।
चितवनमा मात्रै आज (सोमबार) विहानसम्ममा कुल कोरोना संक्रमितको संख्या ३६८ पुगेको छ । आइतबार दिउँसोसम्ममा ३४२ जना संक्रमित रहेको चितवनमा आज विहानसम्ममा २६ जना नयाँ संक्रमित थपिए । जसमध्ये २५ जना भरतपुर महानगरपालिकामा बसोबास गर्ने छन् भने एक जना खैरहनी नगरपालिकाका हुन् ।
चितवनमा सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकामा २२४ जना रहेका छन् । यस्तै कालिका नगरपालिकामा ५, रत्ननगर नगरपालिकामा १२, माडी नगरपालिकामा ४१, खैरहनी नगरपालिकामा १४, राप्ती नगरपालिकामा ७० र इच्छाकामना गाउँपालिकामा २ जना संक्रमित छन् । कुल संक्रमितहरु मध्ये २४४ जना अहिले सक्रिय संक्रमित हुन् ।
चितवनका ६ वटा स्थानीय तहमा सक्रिय संक्रमित छन् भने माडी नगरपालिकामा हालसम्म सक्रिय संक्रमित फेला परेका छैनन् । चितवनमा कोरोना संक्रमणबाट हालसम्म तीन जनाको मृत्यु भएको छ । जसमध्ये एक जना भरतपुर महानगरपालिका–११ का पुरुष, खैरहनी–३ की १०८ वर्षीया महिला र रत्ननगर–१३ का ६५ वर्षीय पुरुष हुन् ।
























