Breaking News

कोरोना संक्रमितलाई अपहेलना नगरौं, आफूलाई पर्दा के हुन्छ सोचौं

Banner

मधुसूदन दवाडी,

चितवन, भदौं ६-

अहिले चितवनमा दिनप्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ । अस्पतालमा अग्र मोर्चामा खटिने डाक्टर, नर्सदेखि विभिन्न पेसा र व्यवसायका मानिसहरु कोरोनाबाट संक्रमित भएका छन् । यो सामान्य भाइरसको संक्रमण नै भए पनि संक्रमितहरुलाई समाजले हेर्ने दृष्टिकोण भने खासै सकारात्मक बन्न सकेको छैन ।

समाजले कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने उदाहरण दिनु पर्दा सबैभन्दा धेरै उदाहरणमा भरतपुरकै घटनालाई लिने गरिएको छ । एउटा चिकित्सकलाई गरिएको व्यवहारको कारणले गर्दा यो घटना चर्चित बने पनि समाजमा भएका यस्ता अन्य घटनाहरु सामाजिक सञ्जालमार्फत् यदाकदा अभिव्यक्त भइरहेका छन् ।

बिरामीको उपचार गर्दागर्दै रत्ननगर अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट तथा वरिष्ठ बालरोग विशेषज्ञ विश्वबन्धु बगाले कोरोना संक्रमित हुनुभयो । पीसीआर रिर्पोटपछि उहाँ घरभित्रै बस्नु भयो । तर, आफंै सजग र जिम्मेवार भएर घरमा बसेको अवस्थामा उहाँलाई छिमेकीहरूले हौसला दिनुको साटो उल्टै निरुत्साहित बनाए। उहाँको घरबाहिर टोलकै केही व्यक्ति आएर ‘कोरोना संक्रमितको घर’ लेखिएको बोर्ड टाँसिदिए। उहाँले यो घटना फेसबुकमा पोष्ट गरेर सार्वजनिक गरेपछि राष्ट्रियरुपमा चर्चा पायो ।

अहिले उहाँ कोरोना संक्रमणबाट मुक्त हुनु भएको छ तर उहाँको श्रीमती भरतपुर अस्पतालकी डाक्टर अनिता भण्डारीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि अहिले पनि उहाँहरु घरभित्र सुरक्षितरुपमा बसिरहनु भएको छ । ‘आफूहरु चिकित्सक नै भए पनि केही न केही मनोवैज्ञानिक त्रास त हुनै नै रहेछ’, उहाँले नारायणी अनलाइनलाई भन्नुभयो ।

डाक्टर बगालेले कोरोना संक्रमितको बसाइमा केही समस्या छ भने समाज वा सरकारले सहजीकरण गरिदिनुपर्ने बताउँनुहुन्छ । कुनै पनि संक्रमितलाई विभेद र तिरस्कार गर्न नहुने उहाँको विचार छ । उहाँले भन्नुभयो, ‘कोही डाक्टर रोग बोक्न अस्पताल जाने होइन । उसको कारणले समाजमा खतरा हुँदैन । कार्यक्षेत्रमा खटिने डाक्टर तथा पत्रकारहरुले रोग पक्कै सार्छन् भन्ने खालको सोच गलत हो । ’ उहाँले समाजको दृष्टिकोणले संक्रमितलाई झनै अप्ठ्यारो पर्ने भएकोले यस्ता घटना निन्दनीय भएको बताउनुभयो ।

कोरोना संक्रमित भएर चितवन मेडिकल कलेजको क्याबिनमा आइसोलेसनमा बसिरहनु भएको भरतपुर अस्पतालको प्रसुती विभाग प्रमुख डाक्टर सुनिलमणि पोखरेलले आफूलाई कोरोना संक्रमण भयो भने के हुन्छ भनेर नसोच्ने मानिसहरुले नै संक्रमितहरु प्रति राम्रो व्यवहार गर्न नसकेको नारायणी अनलाइनलाई बताउनुभयो । डाक्टरहरु अस्पतालको अग्र मोर्चामा बसेर काम गर्नुपर्ने भएकोले समाजले उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने डाक्टर पोखरेलको विचार छ । उहाँले भन्नुभयो, ‘कोरोना लाग्दैमा सरिहाल्ने होइन । कुरा नबुझ्ने अज्ञानीले मात्र संक्रमितलाई नराम्रो व्यवहार गर्छ । कोरोना संक्रमितलाई हेर्नै दृष्टिकोणमा सकारात्मक परिवर्तन आउँनुपर्छ ।’ उहाँले आफ्नो परिवार सबै मेडिकल क्षेत्रकै भएकोले सबैले सामान्यरुपमा लिएको बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल पनि कोरोना संक्रमित भएर अहिले कोरोना मुक्त हुनु भएको छ । मुक्त भए पनि अहिले उहाँ घरमा नै सुरक्षित साथ बसिरहनु भएको छ । सामान्य कमन कोल्डको जस्तो समस्या भए पनि समुदायमा कम ज्ञान भएकोले यसलाई जटिलरुपमा हेर्ने गरिएको उहाँले अनुभव सुनाउनु भयो । उहाँले भन्नुभयो, ‘मानिसहरुमा कम ज्ञान भएकोले संक्रमितलाई छोइछिटो गर्छन् । भेदभावको व्यवहार अज्ञानता नै हो ।’ अध्यक्ष पौडेलले संक्रमितलाई प्रेरणा, हौसला र आत्मबल बलियो बनाउन सहयोग गर्नुपर्ने विचार राख्नुभयो ।

अहिले नवलपुरको रजहर प्राकृतिक उपचार केन्द्रमा कोरोना संक्रमित भएर आइसोलेसनमा बसिरहनु भएका पत्रकार रमेशचन्द्र बस्ताकोटी आफूलाई घर परिवारले खासै नकारात्मक दृष्टिकोण नराखे पनि अन्य संक्रमितहरुले समाजले हेर्ने दृष्टिकोण गलत भएको गुनासो गर्ने गरेको नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले हरेक दिन चिकित्सालयबाटै फेसबुक लाइभ गरेर कोरोनाबारेमा विभिन्न जनचेतनामूलक सन्देश पनि प्रसारण गरिरहनु भएको छ । उहाँले संक्रमितको परिवारलाई फरक दृष्टिकोणबाट हेर्ने र तनाव दिने गरेको आफूले भेटेको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘ फौजदारी अपराध गरेको जस्तो व्यवहार गरेर संक्रमितको परिवारलाई तनाव दिनु झन् ठूलो महामारी हो । यो एउटा सामाजिक विकृति पनि हो ।’ परिवारले गरेको भेदभाव र बहिष्कारका कारणले कतिपय संक्रमितहरु झनै बढी विक्षिप्त भएको उहाँले बताउनु भएको छ । पत्रकार वस्ताकोटीले घृणा र तिरस्कार नगरी संक्रमित भन्दा टाढा भने बस्नै पर्ने सुझाव दिनुभएको छ ।

चितवनको कालिका नगरपालिका स्थायी ठेगाना भएका पत्रकार वस्ताकोटी संक्रमित भएपछि उहाँको श्रीमती सृजना कँडेलले सामाजिक सञ्जालमा अभिव्यक्त गरेको विचारबाट पनि संक्रमितलाई समाजलाई गर्ने दृष्टिकोण प्रष्ट हुन्छ । कँडेलले फेसबुकमा ‘अरुलाई पर्दा कुरा काट्ने महोदयहरु विश्वस्त हुनोस् फैलिएको आगोको झिल्काले हजुर र परिवारलाई समेत नसमात्ला भन्न सकिन्न बरु पाठ सिकेर सुरक्षित हुनु होला’ भनेर लेख्नु भएको थियो । उहाँले संक्रमितलाई समाजका कुरा काटेर नकारात्मक टिप्पणी गर्नै गरेको पाइएको उल्लेख गर्नुभएको छ । त्यसैगरी सामाजिक सञ्जाल फेसबुकमा अमृत श्रेष्ठले पिर र शंकाले हामी र हाम्रो परिवारलाई कति मानसिक तनाव हुँदो रहेछ भन्ने प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त भएको भन्दै संक्रमितलाई घृणित व्यवहार नगर्न सबैलाई अपिल गर्नुभएको छ । अझै पनि कोरोना संक्रमणबारे राम्रो ज्ञान नहुँदा समाजमा धेरै नै पीडा भोग्नुपरेको संक्रमित र तीनका परिवारहरुको अनुभव छ ।

आफ्नो घरभन्दा पनि अरुको घरमा भाडामा संक्रमितहरु बस्दा साहुले गर्ने व्यवहारले झनै पीडा हुने गरेको कयौ संक्रमितहरु बताउँछन् । समाज वा परिवारले गर्ने व्यवहारका कारण पनि बिरामीमा ठूलो असर पर्ने भएकाले त्यसरी निरुत्साहित पार्ने कार्य बन्द गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । चितवनमा कोरोनाको डर पनि उत्तिकै भएकोले दूरी कायम राखेर संक्रमितहरुको सक्दो रेखदेख गर्दे आत्मसम्मान बढाउने कार्य गर्नुपर्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>