Breaking News

निषेधाज्ञा उल्लंघन गर्दै चितवनका बैंकहरु, प्रशासन मौन

Banner

चितवन, भदौं २–

विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरसको महामारीको खतरा बढेको भन्दै चितवन प्रशासनले जारी गरेको निषेधाज्ञाको यहाँका बैंक तथा बित्तीय संस्थाले अवज्ञा गरेका छन् ।

बैंकका शाखा प्रबन्धकहरुले कार्यालयमा हाँजिर हुन केन्द्रिय कार्यालयले निर्देशन दिएको भन्दै कर्मचारीहरुलाई दवाब दिने गरेको केही बैंकका कर्मचारीहरुले गुनासो गरेका छन् । एकातिर प्रशासनले सडकमा हिंड्न् रोक्ने अर्कोतिर बैंकले कर्मचारीहरुलाई कार्यालयमा उपस्थित हुन दबाब दिने गरेकोले दुःख पाईरहेको एक बैंकका कर्मचारीले नारायणी अनलाइनसंग गुनासो गरे । नाम उल्लेख नगर्ने सर्तमा ती कर्मचारीले भने–‘कहिले विहानै बोलाउ छ, कहिले १० बजेपछि लुकेर आउन भन्छ, निषेधाज्ञाको बेलामा कसरी कार्यालय जाने हामी समस्यामा छौं ।’

शाखा प्रबन्धकहरु घरमै बस्ने तर अन्य कर्मचारीलाई कार्यालय जान दवाब दिनेगरेको बैंक बित्तीय संस्थाको यो पहिलो घटना भने होईन । यस अगाडिको लकडाउनमा पनि यस्तै नियति बैंक तथा बित्तीय संस्थाका कर्मचारीले भोग्नुपरेको थियो । जसका कारण बजारमा मान्छेको भिड नियन्त्रणमा प्रशासनलाई मुस्किल परेको थियो । प्रहरीले चेकजाँचमा कडाइ गर्दा थुप्रै बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु नियन्त्रणमा परेका थिए । बैंक खुलेकै कारण बजारमा भिडभाड बढेको थियो ।

बैंकहरुले नै भिडभाड गराउने तर कर्मचारीलाई सुरक्षित स्वास्थ्य सामग्री उपलब्ध नगराउने कार्यप्रति कर्मचारी नै असन्तुष्ट रहेका छन् । ‘नाफा कम नहोस् भन्दै कर्मचारीलाई एक कप चिया समेत खान नदिएका बैंकहरुले मास्क तथा पन्जा लागायत सामग्री दिने कुरै आएन’– एक कर्मचारीले नाम नखुलाउने सर्तमा भनिन् ।

निषेधाज्ञालाई सफल बनाउन चितवनमा प्रहरीले चेकजाँचलाई समेत कडा पारेको छ । तर बैंकले निषेधाज्ञा उल्लंघन गरेको बारेमा प्रशासन मौन छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैंक तथा वित्तिय संस्थाहरु सबै बन्द गर्न निर्देशन दिएको बताए । उनले बैंक भित्रै बसेका कर्मचारीले आन्तरिक काम गर्न पाउने तर बाहिरी काम गर्न नपाइने बताए ।

जिल्ला प्रशासनले निषेधाज्ञाको सूचना जारी गर्दा बैंक तथा वित्तिय संस्थाहरु खोल्न नपाउने भनेर उल्लेख गरेको छ । तर आफ्नै निर्णय कार्यान्वयन नभएको बारेमा प्रशासन बेखबर छ ।
चेकजाँचमा खटिएका प्रहरीले पनि बैंक कर्मचारी भन्ने वित्तिकै निर्वाध रुपमा हिड्न दिइरहेका छन् । तर अन्य व्यक्तिहरु महत्वपूर्ण कामका लागि अस्पताल जाँदा वा अन्य महत्वपूर्ण कामका लागि हिड्दा धमाधम कारवाहीमा पर्ने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>