Breaking News

भरतपुर अस्पतालको आइसोलेसन कक्ष भरियो, अन्य कोरोना संक्रमितलाई राख्ने ठाउँ छैन

Banner

चितवन, भदौं २–

चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि बनाइएको आइसोलेसन कक्ष भरिएको छ ।

पछिल्ला केही समययता दिन प्रतिदिन चितवनमा कोरोना संक्रमित भेटिदै गएपछि भरतपुर अस्पतालमा कोरोना संक्रमितलाई राख्ने ठाउँ नै भरिएको हो । हाल अस्पतालमा ५३ जना संक्रमित व्यक्तिहरु उपचाररत रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

अस्पतालमा कोरोना संक्रमितका लागि कुल ७५ बेड छुट्याएको छ । जसमध्ये १० बेड आइसीयू कक्षमा रहेको छ । हाल आइसीयू कक्षमा तीन जना कोरोना संक्रमितको उपचार भइरहेको छ । संक्रमितसंगै आएका अन्य ८ जना व्यक्तिहरु पनि अस्पतालको कोभिड बेडमै बसिरहेका छन् । सूचना अधिकारी पौडेलले भने–‘अस्पताल आउँदा संगै आफ्ना छोरा छोरी बोकेर आउँछन्, उनीहरुलाई फर्काउन पनि सकिने अवस्था छैन ।’

भरतपुर अस्पतालमा संक्रमितलाई राख्ने ठाउँ नभएपछि हाल ३० जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । चितवनमा पहिलोपटक वैशाख ५ गते पूर्वीचितवनको राप्ती नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलोपटक उनीहरुलाई भरतपुर अस्पतालमै राखेर उपचार गरिएको थियो ।

भरतपुर अस्पतालमा हालसम्ममा १३७ जना कोरोना संक्रमितको उपचार गरिएको छ । सो अस्पतालमा उपचाररत दुई संक्रमितको भने मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>