वागमती

लोकसेवामा विज्ञ र कर्मचारीको गलत धन्दा, सेटिङमा पास गर्न थालेपछि परिक्षानै रद्ध

Banner

काठमाडौं,साउन ३२-

मुलुककै सबैभन्दा निष्पक्ष निकायका रूपमा पहिचान बनाउँदै आएको लोकसेवा आयोग पछिल्ला दिनमा विवादमा पर्न थालेको छ । आयोगको रोस्टरमा रहेका केही विज्ञ तथा आफ्नै कर्मचारीको गलत धन्दाका कारण आयोगको विश्वसनीयतामाथि धक्का लागेको हो ।

लोकसेवाको हालसम्मको निष्पक्ष भूमिकाकै कारण आयोगमा कुनै प्रकारको सोर्सफोर्स चल्दैन भन्ने मान्यता रहँदै आएको छ । जसका कारण निजामती सेवालगायत अन्य सरकारी सेवामा प्रवेश गर्नेहरूले योग्यता, दक्षता र क्षमताका आधारमा नै छनोट हुने अवसर पाइरहेका छन् । हालसम्म आयोगको निष्पक्षतामाथि कसैले पनि औँला ठड्याउन पाएका छैनन् । तर, पछिल्ला केही घटनाले भने आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न सिर्जना गरिदिएको हो । आयोगलाई योग्यता (मेरिट) प्रणालीको रक्षकका रूपमा मानिँदै आएको छ ।

पछिल्लो पटक सञ्चालित विविध सेवाअन्तर्गत सहसचिवस्तरको सूचना प्रविधि विज्ञको परीक्षामा नियुक्त विज्ञको सेटिङ धन्दाका कारण लोकसेवाले सम्पूर्ण परीक्षा नै रद्द गर्नुपरेको छ । सो परीक्षाको लिखितमा सहभागी भएका १० मध्येबाट तीन जना उत्तीर्ण भई अन्तर्वार्ताका लागि समेत सूचना जारी भइसकेकामा हाल सो परीक्षाको अन्तर्वार्ता मात्रै होइन, लिखित परीक्षा नै रद्द गरिएको छ ।

आयोगले २९ साउनमा सो परीक्षाको सबै प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । परीक्षा रद्द गर्ने निर्णय गरिए पनि आयोगले त्यसको कारण भने खुलाएको छैन । आयोगका एक अधिकारीका अनुसार यो परीक्षामा केही बदमासी भएको सूचना र तथ्यका आधारमा परीक्षा रद्द गरिएको हो । आयोगका अध्यक्ष उमेश मैनालीले अन्तर्वार्ता हुनुभन्दा आधा घण्टाअघि मात्रै परीक्षामा केही बदमासी भएको तथ्य थाहा पाएपछि परीक्षा रोक्न निर्देशन दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>