खैरहनी
खैरहनीका बैंकमा मेयर चौधरीको छड्के अनुगमन

चितवन, साउन ३१–
कोरोना संक्रमणको जोखिम बढीरहेका बेला खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले नगरभित्रका बैंकहरुले स्वास्थ्य सुरक्षाका उपाय अपनाए÷नअपनाएको बारेमा छड्के अनुगमन सुरु गरेका छन् ।
बैंकका कर्मचारीसंगै सेवा लिन आएकाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थाका बारे संवेदनसिल हुनुपर्ने भएकाले अनुगमन गरिएको नगर प्रमुख चौधरीले बताउनुभयो । कर्मचारी र सेवाग्राही पनि स्वास्थ्य सुरक्षामा चनाखो हुनु पर्ने उहाँको भनाइ थियो । उहाँले बिहीबार कृषि बिकास बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक लगायतको अनुगमन गर्दै सचेत गराउनु भएको छ ।
खैरहनीमा दुई दर्जन बढी बैंकहरु रहेका छन् । बैंकहरुमा सेवाग्राहीको भिड हुने भएकाले मास्क, स्यानिटाइजर प्रयोग र सामाजिक दुरी कायम गरि सेवा लिन र दिन नगर प्रमुख चौधरीले आग्रह गर्नुभयो । स्वास्थ्य जस्तो संवेदनसिल कुरामा सरकारको मात्र मुख नताकी स्वंयम् व्यक्ति पनि सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
अनुगमनका क्रममा बैंकहरुले ब्यबस्थापनमा अझ बढी ध्यान दिनु पर्ने देखिएको उहाँले बताउनुभयो । ‘सुरक्षा सावधानी अझै पुगेको छैन, यसमा विशेष ज्ञान दिएर मात्रै सेवा दिन आवश्यक छ’–नगर प्रमुख चौधरीले भन्नुभयो ।
बैंकका प्रबन्धकहरुले कोरोनाको संकट भए पनि आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर सेवा प्रवाह गरिरहेको बताएका थिए ।


























