चितवन विशेष
चितवनको माडीमा सीता-रामको मूर्ति बनाउन प्रधानमन्त्रीको निर्देशनपछि कांग्रेसले उठायो ४ प्रश्न

काठमाडौं, साउन २५-
चितवनको माडीमा प्रधानमन्त्री केपी ओलीले सीता-रामको भव्य मूर्ति बनाउन दिएको निर्देशनको प्रमुख विपक्षी नेपाली कांग्रेसले आलोचना गरेको छ।
माडी नगरपालिकाका जनप्रतिनिधिलाई बालुवाटार बेलाएर यस्तो निर्देशन दिएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने भन्दै प्रश्न गरेका छन् ।
शर्माले आफ्नो ट्विटमा लेखेका छन्, ‘भक्त चेपाङको घर जलाएर भगवान् रामको मन्दिर बनाउने ? द्वन्द्वात्मक भौतिकवादको यो कस्तो आध्यात्मिक अवतार ? ‘यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ? कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि मिशन लिम्पियाधुरालाई बल पुग्ला ?’
प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेको दाबी गर्दै मन्दिर बनाउन स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाललगायत स्थानीय जनप्रतिनिधिसँग बालुवाटारमा शनिबार साँझ भएको करिब दुई घण्टा लामो भेटघाटमा प्रधानमन्त्री ओलीले रामको जन्मभूमि माडीको अयोध्यामै पर्ने दोहोर्याउँदै रामनवमीमा भव्य मेलाको तयारी गर्न निर्देशन दिएको विषय बाहिर आएको छ।
प्रधानमन्त्री ओलीले रामको जन्मभूमि नेपालमा पर्ने विषयलाई प्रवर्द्धन गर्न स्थानीयस्तरबाटै प्रयास थाल्न पनि निर्देशन दिएका छन् ।



























