खैरहनी

कोरोना प्रभावः खैरहनी नगरपालिकामा जोर बिजोर प्रणालीबाट सेवा प्रवाह

Banner

चितवन, साउन २०–

खैरहनी नगरपालिकाबाट प्रवाह हुने सबै सेवा जोर बिजोर प्रणाली अनुसार संचालन हुने भएको छ । हरेक हप्ताको जोर बारको दिन जोर वडाको तथा विजोर बारको दिन विजोर वडा कार्यालयको काम हुने नगरपालिकाले जनाएको छ ।

खैरहनी नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले बुधबारदेखी लागू हुने गरी यस्तो निर्णय गरेको हो । नगरपालिकाबाट प्रदान हुने राजस्व संकलन लगायत सम्पूर्ण सेवा तथा सिफारिसको काम जोर बिजोर बार र वडा अनुसार हुने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु बानियाँले जानकारी दिए ।

वडा कार्यालयहरुबाट सिफारिस पठाउँदा सोही निर्णय अनुसार पठाउन समेत भनिएको छ । वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक समेत रहेका खैरहनी १ का वडाध्यक्ष भूमिप्रसाद कँडेलको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार अब नगरपालिका कार्यालयमा आईतबार, मंगलबार र विहीबार वडा नम्वर १,३,५,७,९,११ र १३ तथा सोमबार, बुधबार र शुक्रबार वडा नम्वर २,४,६,८,१० र १२ का सेवाग्राहीको काम हुनेछ । लकडाउनको केही समय पनि नगरपालिकाले जोर बिजोर प्रणालीबाट सेवा दिएको थियो ।

साउन महिना लागू भएपछि राजस्व वुझाउने सेवाग्राहीको चाप अत्याधिक भएपछि जोर बिजोर प्रणाली लागू गरिएको खैरहनी नगरपालिका मेयर लालमणि चौधरीले बताए । राजस्व बुझाउनेहरुको भीड लागेपछि नगरपालिकाले टोकनको समेत व्यवस्था गरेको छ । कुनै पनि काम लिएर आउँदा र बाहिर हिडडुल गर्दा समेत अनिवार्य मास्क लगाउन, सेनिटाईजर प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न मेयर चौधरीले आग्रह गरेका छन् ।

वातावरण तथा विपद् व्यवस्थापन समितिका सदस्य सचिव एवंम् वातावरण इन्जिनियर निर्मल अर्यालका अनुसार बैठकले खैरहनी–५ वुढीराप्ती पुल नजिक रहेको पुरानो ल्याण्डफिण्ड साईट सुरक्षित विधि अपनाएर बन्द गर्ने, बजार क्षेत्रको फोहोर कुहिने र नकुहिने गरी वर्गीकरण गरि व्यवस्थापन गर्न अभिमुखीकरण कार्यक्रम संचालन गर्नेलगायत निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>