चितवन विशेष

चितवन मेडिकल कलेजमा एकवर्षमा साढे ३ लाख बढीले लिए सेवा

Banner

चितवन, साउन १८–

चितवन मेडिकल कलेजमा एक वर्षमै ३ लाख ५६ हजार बढी बिरामीले सेवा लिएका छन् ।

कलेजले आइतबार पत्रकार सम्मेलन गरी २०७६ साउन १ गतेदेखि २०७७ असार ३१ गतेसम्ममा पूर्वदेखि पश्चिम नेपालसम्मका ३ लाख ५६ हजार ७९८ जना बिरामीले सेवा लिएको जानकारी दिएको छ । अस्पतालका निर्देशक डा.दयाराम लम्सालले वर्षेनी चितवन मेडिकल कलेजमा बिरामीको संख्या बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो–‘सबै खालका बिरामीहरुको विश्वासिलो संस्थाको रुपमा हामी हुन पाएका छौं, पूर्वदेखि पश्चिम नेपालसम्मका बिरामी सेवा लिन आउनु भएको छ ।’

चितवन मेडिकल कलेजको ओपीडिमा मात्र ३ लाख २४ हजार ६६९ जना बिरामीले सेवा लिएका छन् । जसमा नयाँ बिरामी २ लाख ४७ हजार ८६२ जना छन् भने फलो अप बिरामी ७६ हजार ८०७ जना छन् । यस्तै मेडिकल कलेजमा भर्ना भएका बिरामीको संख्या ३२ हजार १२९ जना रहेका छन् ।

चितवन मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा लिनेको संख्या पनि बढ्दो छ । गत आर्थिक वर्षमा ६३ हजार ७९७ जनाले स्वास्थ्य बीमा सेवा लिएका थिए । यस्तै जटिल शल्यक्रिया एक हजार ७६३, निःशुल्क डेलिभरी (प्रस्तुती सेवा) ३ हजार २७ जनाले लिएका छन् ।

सरकारले जटिल रोगको उपचारका लागि बिरामीलाई एक लाख रुपैयाँसम्म छुट दिने गरेको छ । मुटु, हेड इन्जुरी, स्पाइनल इन्जुरी, क्यान्सर, पार्किन्सस र अल्जाईमरको शल्यक्रिया समेत यस कलेजमा भएको छ । जसअन्तरगत एक लाख छुट पाएर ३४९ जनाको शल्यक्रिया भएको अस्पतालका निर्देशक डा.लम्सालले जानकारी दिनुभयो ।

यस्तै मेडिकल कलेजले ७ हजार ६२६ सेसन निःशुल्क डायलाईसिस, भरतपुर महानगरपालिका महिलाहरुको निःशुल्क परीक्षण ४ हजार २६८, निःशुल्क दन्त सेवा एक हजार ५८१ र गरिब, विपन्न छुट सुविधा २९ हजार ८९५ जनाले लिएको जनाएको छ ।

नेपालका अधिकांश बिरामीले यस मेडिकल कलेजमा सेवा लिएका छन् । सबैभन्दा बढी ६१ प्रतिशत चितवन, १५ प्रतिशत नवलपरासी र मकवानपुर, गोरखा, तनहुँ र लमजुङबाट मुख्य रुपमा बिरामी उपचारका लागि आउने गरेको कलेजका प्रवन्ध निर्देशक लम्सालले जानकारी दिनुभयो ।

सबै अति विशिष्ट सेवा चितवन मेडिकल कलेजमै

पत्रकार सम्मेलनमा बोल्दै चितवन मेडिकल कलेजका अध्यक्ष एवंम प्रवन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले मेडिकल कलेजलाई क्रिटिकल मल्टिस्पेसलाइजको रुपमा विकास गर्न लागिएको बताउनुभयो । उहाँले भारतका चर्चित अस्पतालहरु मेदान्तलगायतका अस्पतालले दिने सेवा चितवन मेडिकल कलेजबाटै प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो–‘सबै प्रकारका अति विशिष्ट सेवाहरु सिएमसीमा पाउन सकिन्छ, भारतका अस्पतालले दिने सेवा यही पाइन्छ, किन भारत जानु प¥यो ।’

चितवन मेडिक कलेजमा अति विशिष्ट सेवा अन्तरगत पल्मोनोोजी क्रिटिकल केयर तथा स्लीप मेडिसिन, कार्डियोलोजी, न्यूरो सर्जरी, ग्यास्ट्रोइेन्टेरोलोजी, यूरोलोजी, ग्याण्टोइन्टेस्टाइनल सर्जरी, प्लाष्टिक सर्जरी, हेपाटोवेलियरी तथा प्यान्क्रियाटिक, मधुमेह (इन्डोक्रायनोलोजी), हेपाटोलोजी तथा लिभर प्रत्यारोपण, बाल सघन पेडियाट्रिक्स इन्टेन्सीभिस्ट सेवाहरु रहेका छन् ।

कोरोनाको उपचार गर्न अनुमतिको प्रतिक्षामा

विश्वभर आतंक मच्चाईरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीको अहिले भरतपुर अस्पतालमा हुने गरेको छ । निजी अस्पताललाई बिरामीको उपचार गर्न अनुमति नदिएपछि भरतपुर अस्पतालमा मात्रै उपचार भइरहेको छ ।

सरकारले केहीदिन पहिले निजी अस्पतालहरुलाई पनि कोरोनाको उपचार गर्ने निर्णय गरेसंगै चितवन मेडिकल कलेज पनि अनुमतिको पर्खाइमा छ । अस्पतालका अध्यक्ष तथा प्रवन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले सरकारको अनुमतिको प्रतिक्षा गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘पूर्वाधारका हिसाबले हामी पूर्णतया तयार छौं, सरकारले अनुमति दिएपछि हामी उपचार थाल्छौं ।’ डा.न्यौपानेले पीसीआर ल्याबसंगै जनशक्ति पनि भएकाले सरकारले अनमुति दिए कोरोना परीक्षण पनि सिएमसीले गर्ने बताए । अहिले चितवन मेडिकल कलेजकै ल्याबमा कार्यररत चिकित्सकहरु भरतपुर अस्पतालको कोरोना ल्याबमा काम गरिरहेका छन् ।

चितवन मेडिकल कलेजले अहिले कोभिड क्लिनिक पनि संचालन गरिरहेको छ । कोभिडकै बिरामीका लागि पाँच वटा भेन्टिलेटरसहितको आइसीयू तयार पारेको र आवश्यक परे अन्य वार्ड पनि थप गर्ने गरी तयारी अवस्थामा रहेको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>