समाचार

स्वीकृतिबिना इङ्ल्यान्ड जान लागेका एन्फा पदाधिकारीलाई खेलकुद मन्त्रीले राेके

Banner

काठमाडौं, वैशाख १९-

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीलाई बेलायतमा हुने मैत्रीपूर्ण खेलमा जान रोक लगाएका छन्।

मन्त्री श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वीकृतिबिना नै मैत्रीपूर्ण खेलमा सहभागी हुन लागेका १५ जना पदाधिकारीलाई बेलायत जान रोक लगाएका हुन्। त्यसका लागि खेलकुद मन्त्रालयले गृह मन्त्रालयलाई पत्रसमेत पठाएको छ। भिसा प्रक्रियामा ढिलाइ भएपछि नेपाल राष्ट्रिय फुटबल टोली निर्धारित समयभन्दा पछि नै बेलायत जाने भएको थियो। नेपालले आगामी वैशाख २४ गते इङ्ल्यान्डको अल्डरसटमा तेस्रो डिभिजन क्लब स्टोक सिटीसँग खेल्दै छ।

एन्फाका पदाधिकारी र नेपालका लागि बेलायतका राजदूत रोब फेनले सोमबार नै नेपाली टोलीको बिदाइ गरेका थिए। नेपाली टोली मंगलबार बिहान नै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम थियो। तर, समयमा भिसा नआउँदा दिनभर नै खेलाडीको बेलायत अभ्यास अन्योलमा परेको थियो। सोही विषयमा मन्त्री विराजभक्त श्रेष्ठले राखेप सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा एन्फाका महासचिव किरण राईसँग जबाफ मागेका थिए। सो क्रममा एन्फा महासचिव राईले मंगलबार रातिसम्म भिसा आउने बताए। भिसाकै लागि भारतको दिल्ली पनि गएको महासचिव राईले जानकारी गराए।

मैत्रीपूर्ण खेलमा सहभागी गराउन एन्फाले खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम स्वीकृतिका लागि राखेपमा पत्र पठाएको थियो। तर, पाँच जना एन्फा भिआइपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिता स्वीकृतिका लागि भने राखेपमा पत्र नआएको पनि सदस्यसचिव घिसिङले स्पष्ट पारे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>