देश/प्रदेश

ओली सरकारलाई निरन्तरता दिएर अस्थिरताको ‘ब्रेक–थ्रु’ गर्नुपर्छ: उद्योगमन्त्री भट्ट

Banner

काठमाडौं, साउन १५-

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नहुने स्पष्ट पार्नु भएको छ ।

उहाँले भन्नुभयो,‘केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, पार्टीले सरकारलाई सहयोग गर्छ । पार्टी भनेको सबै हो । अहिले प्रधानमन्त्री ओलीको विकल्प म देख्दिन् ।’ बिहीबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा मन्त्री भट्टले ओली नेतृत्वको वर्तमान सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर इतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक–थ्रु’ हुनुपर्ने बताउनुभयो । उहाँले पार्टीभित्र अहिले देखिएको बहस, छलफल र वादविवाद अन्ततः सहमतिमै सबै कुरा हल हुने पनि विश्वास दिलाउनु भयो ।

साक्षात्कारमा बोल्दै उहाँले भन्नुभयो,‘सबै एकै ठाउँमा आउनुहुन्छ । र, सहमति हुन्छ । सहमतिको विकल्प छैन् ।’ आफ्नो पार्टीका नेताहरूको कल्चर नै निकै बहस, छलफल गर्ने र निष्कर्षमा सहमतिबाटै परीणाम निकाल्ने रहेकोले अहिल ेपनि सहमति हुने उहाँको दाबी छ । उहाँले भन्नुभयो,‘पार्टी एकता, संघर्ष र रुपतान्तरणबाटै चल्ने हो ।’

स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री भट्टले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुने र सहमतिको विकल्प नभएको जीकिर गर्नुभयो । यद्यपि उहाँले केही प्रवृत्तिले पार्टीभित्र खेल्न खोजेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो,‘तर, हामी ती प्रवृत्तिलाई पराजित गरेरै अघि बढ्छौं ।’ वर्तमान सरकारले गरेका राम्रा काम र यसका उपलब्धिहरु जनतासमक्ष लगिने पनि उहाँले जानकारी दिनुभयो ।

एकता महाधिवेशनसम्म दुवै अध्यक्ष अनिवार्य निरन्तर रहने र पहिलो महाधिवेशन पनि सहमतिकै आधारमा सम्पन्न गरिने उहाँको विश्वास छ । उहाँले भन्नुभयो,‘हामी महाधिवेशनबाट नेतृत्व पनि सहमतिमै टुंगो लगाउँछौं ।’ मन्त्री भट्टले आफू नेताविशेषको क्याम्पमा नभई पार्टीको क्याम्पमा रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘म दुवै अध्यक्षको क्याम्पमा छु । दुवै अध्यक्ष एकै ठाउँमा हुनुपर्छ । यदि मैले दुवै अध्यक्ष मिलेर अघि बढ्नुपर्छ । र, सहमतिकै साथ अघि बढ्नुपर्छ भन्दा धोका दिएको हुन्छ भने धोका दिएकै सही । तर, म एकताको पक्षमा छु । पार्टी एकतालाई सुदृढ बनाउनुपर्छ भन्ने नै मेरो लाइन हो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>