राजनीति
नारायणी नदीमा बाँध बनाउन तरुण दलको श्रमदान

चितवन , साउन ६-
३८ औं विपी स्मृति दिवसको अवसरमा नेपाल तरुणका दल चितवनका कार्यकर्ताले नारायणी नदीको बाढीले जोखिमयुक्त क्षेत्रमा बाँध बनाउन श्रमदान गरेका छन् ।
पश्चिम चितवनको मैघौलीमा नारायणीले भत्काउन लागेको स्थानमा बाँध बनाउन मंगलबार श्रमदान गरेका हुन् । बाढीले भत्काउन लागेको बाँध बनाउन श्रमदान गरेको कार्यक्रम संयोजक नेपाल तरुण दलका नेता सोम भण्डारीले बताए । बाँध बनाउन लागेको स्थानमा उनीहरुले ढुंगा बोकेर जालीमा हालेका थिए । भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ को सीमा क्षेत्रमा रहेको न्यूरे चोकमा बाँध बनाउन उनीहरुले सहयोग गरेका हुन् । तरुण युवासँग नेपाली कांग्रेस चितवनका नेताहरु पनि सहभागी भएर हौसला प्रदान गरेका थिए ।
नेपाली कांग्रेसका महासमिति सदस्य दिनेश कोइराला, कांग्रेसका महासमिति सदस्य एवम् तरुण दलका पूर्वकेन्द्रीय सदस्य सुवोध प्रधान, नेपाल महिला संघ चितवनकी अध्यक्ष एवम् भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरी सहभागी थिए । कार्यक्रममा झण्डै १०० बढी तरुणहरुको सहभागिता रहेका थियो । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ‘क’ का सभापति अमृत बाँनिया , भरतपुर नगर सचिव किशोर गुरुङ, नेपाल रेडक्रस सोसाइटी चितवनका उपसभापति विदुर केसी, तरुण दल चितवनका सचिव प्रल्हाद उप्रेती, महिला संघ सचिव तारा गुरुङलगायत नेताहरु पनि पुगेका थिए । उक्त क्षेत्रमा नदीले बर्सेनि नदी कटान गर्दै आएको छ । उक्त क्षेत्रका बासिन्दा बाढीको कारण असुरक्षित महसुस गरेका बेला नेपाली कांग्रेसको भातृसंगठन तरुण दलका कार्यकर्ताहरु बाढीको जोखिमयुक्त क्षेत्रमा खटिएका हुन् ।


























