अन्तर्राष्ट्रिय
डब्लुएचओ भन्छ – कोरोना भाइरसविरुद्धको सफल खोपका लागि अझै लामो यात्रा बाँकी छ

काठमाडौँ, साउन ६-
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धका सम्भावित खोपहरुको मानवीय परीक्षणमा सकारात्मक नजिता आउनु अति उत्साहजनक र खुशीको कुरा रहेको जनाएको छ ।
तर कोरोना भाइरसविरुद्धको खोप प्राप्त हुन अझै समय लाग्ने र संक्रमणसँग लड्नका लागि धेरै काम गर्न बाँकी रहेको भन्दै डब्लुएचओले सचेत गराएको छ ।
डब्लुएचओको आपतकालीन कार्यक्रमका निदेर्शक डा. माइक रायनले सोमबार जेनेभामा भएको पत्रकार सम्मेलनमा कोरोना भाइरसविरुद्धको सम्भावित खोपमा काम गरिरहेका अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई सकारात्मक नतिजाका लागि बधाई दिए ।
तर उनले सचेत बनाउँदै भने, ‘यो परिणाम सकारात्मक हो तर हामीले अझै लामो यात्रा तय गर्न बाँकी नै छ ।’ खोप प्रयोगमा ल्याउनु पूर्व ठूलो तहमा परीक्षण गरिनु पर्ने उनले बताए । उनले भने, ‘कोरोना भाइरसविरुद्धको औषधि वा खोपको खोजीमा तीव्र गतिमा विश्वभर काम हुनु सकारात्मक छ र यसलाई बिस्तारित बनाउनु पर्छ ।’

























