देश/प्रदेश
भदौको पहिलो साताबाट त्रिविको परीक्षा

काठमाडौं, साउन ५-
त्रिभुवन विश्वविद्यालयले स्नातकदेखि स्नातकोत्तर तहसम्मका स्थगित भएको परीक्षा भदौको पहिलो सातादेखि सुरु गर्ने तयारी गरेको छ ।
त्रिविको परीक्षा सुधार समिति र केन्द्रीय परीक्षा बोर्डको बैठकले मातहतका निकायलाई परीक्षाको तयारी थाल्न निर्देशन दिएको हो । लकडाउन खुकुलो भए यातायातका साधन सञ्चालनमा आएमा परम्परागत रूपमै परीक्षा गर्ने गरी त्रिविले तयारी गरेको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले लकडाउनको स्थित हेरेर परीक्षा लिइने बताए । ‘लकडाउन खुकुलो हुन्छ । यातायातका साधन चल्छ भने सोहीअनुसार परीक्षाको तयारी थाल्न सम्बन्धित कार्यालयलाई बोर्ड बैठकले निर्देशन दिएको छ,’ उनले भने, ‘केही दिनमा नोटिस निकाल्छौँ । सामाजिक दूरी कायम गरेर परीक्षा गछौँ ।’
असोजसम्म सबै परीक्षा सक्ने त्रिविको तयारी छ । ‘कसैको भदौ पहिलो साता, कसैको दोस्रो, कसैको असोजसम्म जान सक्छ । अनुकूल हेरेर परीक्षा हुन्छ,’ उनले भने । विश्वविद्यालय अनुदान आयोगले जारी गरेको उच्च शिक्षामा वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण प्रारूपअनुसार त्रिविले परीक्षा गर्न लागेको हो ।
























