वागमती
कोरोना परीक्षणका लागि १४ सय थान कीट सहयोग

चितवन, असार ३१-
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ एरिया नं ३ ले आज भरतपुर अस्पताल भरतपुरलाई एक हजार ४०० थान भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडियम) कीट प्रदान गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल फाउन्डेसनबाट सो कीट प्राप्त भएको हो । कोरोना भाइरस परीक्षणका लागि मानिसको मुख तथा नाकबाट लिइएको स्वाबलाई ल्याबसम्म सुरक्षित रुपमा पु¥याउन भीटीएम कीटको प्रयोग गरिन्छ । भरतपुर अस्पतालमा आज एक कार्यक्रम गरी सो कीट भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा वागमती प्रदेशका सांसद विजय सुवेदी, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, लायन्स क्लब इन्टरनेशनलडिष्ट्रिक ३२५ बी २ का प्रथम गर्भनर रामप्रसाद भट्टको उपस्थिति रहेको थियो ।
भीटीएम कीट ग्रहण गरे सँगै भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले यो कीटले निक्कै ठूलो महत्व राखेको बताए । न्यून र मध्यमआयस्तरका नागरिकहरु उपचारका लागि आउने भरतपुर अस्पतालमा लायन्सले अत्यावश्यकीय सामग्री प्रदान गरेकोमा खुसी व्यक्त गर्दै दिर्घकालिन रुपमा लायन्स इन्टरनेशनलसँग अस्पतालमा कुनै कोष स्थापनाका लागि पहल गर्न उपस्थित लायन्सकर्मीसँग आग्रह गरे । लायन्स क्लबको पहलमा यस अगाडि पनि अस्पताललाई पीपीई, माक्स, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री प्रदान गरिरएको थियो ।























