देश/प्रदेश
भारतीय मिडियाको भ्रामक समाचारको कुटनीतिक खण्डन गर्न फोनिजको माग

काठमाडौं, असार २६–
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले भारतीय मिडियाको निन्दनीय गतिविधिको कूटनीतिक माध्यमबाट खण्डन गर्न माग गरेको छ । फोनिजका सचिव मिलन लिम्बुद्धारा आज (शुक्रबार) जारी विज्ञप्तीमा भारतीय मिडियाको निन्दनीय गतिविधिको कूटनीतिक माध्यमबाट खण्डन गर्न फोनिजले सरकारको ध्यानाकर्षण गराएको छ ।
भारतीय टेलिभिजन जी न्यूजले प्रशारण गरेको प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँग सम्बन्धित सामग्री प्रति फोनिजको गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल कदम चाल्न सरकारलाई ध्यानाकर्षण गराएको हो ।
सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको अस्तित्व र आत्मसम्मानमा गम्भीर आघात पुर्याउने अभिप्रायले भारतीय सञ्चार माध्यमबाट भ्रामक सामग्री प्रसारण भएको र हुँदै आएको ठहर गर्दै फोनिजले यस्ता कार्यको भत्र्सना गरेको छ ।
फोनिजले नेपाललाई जोडेर भारतीय सञ्चारमाध्यमबाट हुँदै आएको गलत प्रचार निन्दनीय र आपत्तिजनक रहेको ठहर गरेको छ । पछिल्लो पटक प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूतसँग सम्बन्धित आक्षेपपूर्ण समाचार प्रशारण हुनु त्यसैको निरन्तरता रहेको भन्दै कडा कदम सरकार समक्ष फोनिजले माग गरेको छ ।
























