देश/प्रदेश
१० मिटरभन्दा टाढासम्म कोरोना फैलन सक्ने

काठमाडौं, असार २४-
कोरोना भाइरसको बारेमा वैज्ञानिकहरुले विभिन्न नयाँ तथ्यहरु सार्वजनिक गरिरहेका छन् ।
पछिल्ले अनुसन्धानअनुसार कोरोना भाइरस (कोभिड१९) बन्द कोठाभित्र १० मिटरभन्दा लामो दूरीसम्म फैलिन सक्ने पाइएको छ । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरस बोकेका सूक्ष्म थोपा (ड्रपलेटहरु) बन्द कोठामा १० मिटरभन्दा लामो दूरीसम्म फैलिन सक्छन् । जसको कारण अहिले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले दिएको भौतिक दूरीको नियमले कोरोना भाइरस नियन्त्रण गर्न नसकिने उनीहरुको भनाइ छ ।
विश्वका ३२ मुलुकका २३९ वैज्ञानिकहरुले डब्ल्यूएचओलाई पत्र लेख्दै यसबारे जानकारी गराएका हुन् । वैज्ञानिकहरुका अनुसार बन्द कोठामा पाँच माइक्रोमिटरभन्दा साना ड्रपलेटहरु १० मिटरभन्दा लामो दुरीसम्म फैलिन सक्छन् । अहिलेसम्म डब्ल्यूएचओले कोरोना भाइरस नियन्त्रणको लागि कम्तीमा एक मिटरको भौतिक दूरी कायम राख्न दिशानिर्देश जारी गर्दै आएको छ ।
पछिल्लो समय विश्वभरका मुलुकहरु कोरोना भाइरस नियन्त्रण तथा रेष्टुरेन्ट, पसल र सिनेमाजस्ता व्यावसायिक क्षेत्र खोल्न संघर्ष गरिरहेको अवस्थामा वैज्ञानिकहरुले यस्तो चेतावनी दिएका हुन् । अहिलेसम्म डब्ल्यूएचओले बारम्बार हात, धुने, स्यानिटाइजर प्रयोग गर्ने र कम्तीमा एक मिटरको भौतिक दुरी कायम राख्ने दिशानिर्देश जारी गर्दै आएको छ । तर, यो पर्याप्त नहुने वैज्ञानिकहरुको भनाइ छ । उनीहरुका अनुसार डब्ल्यूएचओले अहिले दिएको मापदण्ड पूरा गरेका मानिसहरु आफू पूर्णरुपमा सुरक्षित छु भन्ने सोच्छन् । यद्यपि यस किसिमको कारणले उनीहरु संक्रमित हुने जोखिम भने कायमै हुन्छ । अहिलेसम्म विश्वभर एक करोड १५ लाखभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन् भने करिब पाँच लाख ४० हजारभन्दा धेरै मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।






















