Breaking News
प्रधानमन्त्री ओलीसँग शीर्ष नेताहरुको माग : भारतले सरकार ढाल्न खोजेको भन्ने भनाइ प्रस्ट पार्नुस्
काठमाडौं, असार १६-
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चौथो दिनको बैठकमा वरिष्ठ नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको भारतले आफ्नो सरकार ढाल्न खोजेको भन्ने अभिव्यक्तिबारे गम्भीर चासो राखेका छन् ।
प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्तिसँगै मंगलबार स्थायी समिति बैठकमा बोल्दै प्रचण्ड, झलनाथ खनाललगायतका नेताहरुले त्यसबारे स्पष्ट पार्न माग गरेका हुन् ।
उनीहरुले भारतले सरकार ढाल्न लागेको भन्ने प्रमाण के छ भन्दै ओलीसँग प्रश्न गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए ।
बैठकमा सुरुमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको अभिव्यक्ति कसरी आयो, यो गम्भीर विषयमा को सक्रिय रहेको हो, नेताहरुलाई जानकारी दिनुपर्ने बताएका थिए। त्यसपछि बोलेका वरिष्ठ नेता झलनाथ खनालले पनि सोही आशय राखेको एक नेताले जानकारी दिए।
समितिमा बोल्दै नेता खनालले सरकार ढाल्न भारतीय सक्रिय रहेको भनाइ गम्भीर रहेकोले यसबारे प्रष्ट पार्न माग गरे ।
त्यसलगत्तै उपाध्यक्ष वामदेव गौतम बोलेका थिए । उनले पनि प्रधानमन्त्रीले सरकार नै ढाल्ने गरी कस–कसले सक्रियता बढाएको हो, दूतावासका को–को सक्रिय भए बैठकमा बताउनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले आइतबार जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारतले आफ्नो सरकार ढाल्ने प्रयास गरिरहेको आरोप लगाएका थिए ।
आफू राष्ट्रियताको पक्षमा दृढ भएकै कारण प्रधानमन्त्रीबाट आफूलाई हटाउन देशी विदेशी शक्तिले चलखेल गरिरहेको प्रधानमन्त्रीको भनाइ थियो ।
























