Breaking News
भरतपुरको कोक कम्पनीका मजदुर आन्दोलित, ४४ मजदुर कामबाट निकालिए

चितवन, असार १६-
भरतपुरको गोन्द्राङमा रहेको बोटलर्स नेपाल तराई लिमिटेडमा कार्यरत ४४ जना मजदुरहरुलाई कम्पनीले कामबाट निकालेको भन्दै आन्दोलित भएका छन् ।
कम्पनीअन्तर्गतको वेयर हाउस विभागमा काम गर्ने उनीहरुलाई ठकेदार कम्पनी पवन ढुवानीले कामबाट हटाएको हो । मजदुरहरुले झण्डै एक दशकअघिदेखि निरन्तर काम गर्दै आइरहेकोले ननिकाल्न माग गरेका छन् । आन्दोलनको नेतृत्व गरेका बुद्धिमान सेन्चुरीले पुराना हटाएर नयाँलाई प्राथमिकता दिएकोले आफूहरु आन्दोलित हुनुपरेको बताए । सुरुमा पवन ढुवानीबाट काममा राखिएका उनीहरुलाई हटाएर मारुती ढुवानीलाई कामको जिम्मा दिएपछि मजदुरहरु निकालिएका हुन् । मजदुर सेन्चुरीले भने, ‘नयाँ मजदुरहरुले कम्पनीमा काम गरिरहेका छन् । हामीलाई कम्पनीले राख्नुपर्छ ।’ ती मजदुरहरु विशेष त कोकाकोला, फेन्टा,स्प्राइटजस्ता उत्पादनहरु ओसारपसार गर्ने कार्यमा संलग्न थिए ।
ठकेदार कम्पनीले सम्झौता सकियो अब पाल्न सक्दिन भनेकोले हामीलाई रोजगारी चाहियो भन्ने उनीहरुको मुख्य माग छ । तर, बोटलर्स नेपाल तराई लिमिटेडले भने ठकेदार कम्पनी मार्फत् राखिएका मजदुरहरु आफ्नो सरोकारको विषय नभएको बताएको छ । ठेकेदार कम्पनीबाट राजीनामा दिएर गएका मजदुरहरु कसरी फेरि आन्दोलनमा उत्रिए भन्ने आश्चर्य लागेको कम्पनीले जनाएको छ । ठेकेदार कम्पनी पिठुवामा सरेपछि मजदुरहरु आफ्नो इच्छाले उपदान रकम ८१ हजार रुपैयाँसहित काम छाडेको कम्पनीले नारायणी अनलाइनलाई बतायो ।
























