देश/प्रदेश
सिन्धुलीको बमजन आश्रममा प्रहरीको फेरि छापा

काठमाडौं, असार ४
बलात्कार, हत्या र मानिस बेपत्ताको आरोप लागेका तपश्वीको भेष गर्ने रामबहादुर बमजनको आश्रममा प्रहरीले फेरि छापा मारेको छ।
बिहीबार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुलीस्थित बमजन आश्रममा छापा मारेको एसपी रन्जु सिग्देलले बताइन्।
ुबमजनलाई विभिन्न उजुरीमा पक्राउ गर्ने आदेश छ। पटकपटक छापा मार्दा पनि उनी भेटिएका छैनन्। यसपालि भने उनी आश्रममै छन् भन्ने सूचना पाएपछि सीआइबी टोली आएको थियो,ु सिन्धुली जिल्ला प्रहरी प्रमुख समेत रहेकी सिग्देलले भनिन्, ‘हामीले यहाँबाट सपोर्टमात्र गरेको हो।’
बमजन भने आश्रममा नभेटिएको उनले बताइन्। प्रहरीले आश्रमका विभिन्न भवन र वरिपरि खोजेको थियो। बमजनको आश्रम वरीपरि घना जंगल छ। यसअघि माघ ४ गते पनि प्रहरीले छापा मारेको थियो। तर उनी भेटिएका थिएनन्। बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ।
























