Breaking News
कोरोना निको पार्ने औषधि पत्ता लाग्यो, नेपालमै पाइन्छ सहज रुपमा

काठमाडौं, असार ३–
बेलायती अनुसन्धानकर्ताहरुले कोरोना भाइरस (कोभिड–१९) निको पार्ने औषधि पत्ता लगाएको दावी गरेका छन् ।
‘डेक्सामिथासोन स्टेरोयड’ नाम गरेको औषधिले कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग गरेको बेलायती अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । यो औषधि नेपालमा पनि सहज र सुलभ रूपमा उपलब्ध रहेको छ।
यो औषधि नेपालमा पनि दम लगायत हातखुट्टा सुन्निने रोगका बिरामीमा प्रयोग हुँदै आएको टेकु अस्पतालका डाक्टर अनुप बाँस्तोला बताउँछन्।
यो औषधिको प्रभावकारिता थप पुष्टि भए संक्रमितको उपचारमा ठूलो सघाउ पुग्ने उनले बताए। यसमा अन्य देशले पनि अनुसन्धान गरिरहेको भन्दै उनले यसको उपयोगिता अन्य देशको अनुसन्धानमा पनि निर्भर हुने जनाए।
ुबेलायतले दाबी गरेको औषधिको प्रभावकारिता थप पुष्टि भए यसले नेपालमा पनि भोलि समस्या आइपरे ठूलो सहयोग पुग्ने डा.अधिकारीको भनाइ छ ।
बिबिसीका अनुसार, सस्तो र व्यापक रूपमा पाइने ‘डेक्सामिथासोन स्टेरोयड’ ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको बेलायती अनुसन्धानकर्ताहरूको दाबी छ। यो औषधि दम, बाथ, छाला, फोक्सो र मस्तिष्क समस्याको उपचारमा प्रयोग हुँदै आएको छ।
अनुसन्धान क्रममा दुई हजारभन्दा बढी कोरोना संक्रमितलाई ‘डेक्सामिथासोन स्टेरोयड’ दिइएको थियो भने अन्य चार हजारभन्दा बढीलाई सामान्य उपचार गरिएको थियो। उक्त स्टेरोयड दिँदा केहीलाई खाना र केहीलाई नसाबाट दिइएको थियो।
यसरी उपचार सुरू गरिएको २८ दिनपछि भेन्टिलेटरको आवश्यकता पर्ने बिरामीको मृत्युदर ३५ प्रतिशत घटेको र अक्सिजन दिनुपर्नेको २० प्रतिशत कम भएको अनुसन्धानकर्ताहरूले बताएका छन्। धेरै सिकिस्त नभएका बिरामीमा भने असर नदेखिएको उनीहरूले जानकारी दिए। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाविरुद्धको लडाइँमा यसलाई अहिलेसम्मकै ठूलो सफलता भनेका छन्।
नेपालमा ६ हजार बढी संक्रमित भए पनि भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामी फाट्टफुट्ट छन्। अधिकांश संक्रमितहरू लक्षणविहीन र सामान्य अवस्थाका छन्। मृत्यु हुनेहरुमा भने कोरोना पुष्टि नहुँदै मृत्यु हुने धेरै छन् ।






















