अन्तर्राष्ट्रिय
लद्दाखमा भारत र चीनका सेनाको भिडन्त, मृत्यु हुने भारतीय सैनिकको संख्या २० पुग्यो

दिल्ली, असार ३–
४५ वर्षपछि भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवान क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त भएको छ । भिडन्तमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको छ । १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको भारतीय सेनालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
भारतीय सेनाले मंगलबार राति अबेर आधिकारिक रुपमा यो जानकारी दिएको हो । भारतीय सेनाले भनेको छ, ‘भारत र चीनका सेना गलवान क्षेत्रबाट पछि हटेका छन् । १५ र १६ जुनको राति यहीँ दुवै देशका सैनिकबीच झडप भएको थियो । झडपमा १७ भारतीय सैनिक गम्भीर रुपमा घाइते भएका थिए ।
शून्य डिग्रीभन्दा पनि कम तापक्रम र धेरै उचाइ भएको इलाकामा गम्भीर घाइते भएका १७ सैनिकको मृत्यु भयो । यहाँ कूल २० भारतीय सैनिकको मृत्यु भएको छ । भारतीय सेना देशको अखण्डता र संप्रभुताको रक्षाका लागि प्रतिबद्ध छ ।’ भारतीय सेनाले दुवै देशका वरिष्ठ सैनिक अधिकारी तनाव कम गर्ने विषयमा वार्ता गर्न लागेको पनि उल्लेख गरेको छ ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार पिपुल्स लिबरेसन आर्मी (पीएलए)को पश्चिम कामाण्डका प्रवक्ता चाङ्ग शुईलीले विज्ञप्ति जारी गर्दै भारतलाई आफ्ना सैनिकलाई रोक्न र विवाद समाधानका लागि वार्ताको बाटो अपनाउन भनेका छन् ।
सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । तर एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । दुवै मुलुकले सीमाक्षेत्रमा आफ्नो सैनिकको संख्या बढाएका थिए भने ६ जुनमा वार्ता पनि भएको थियो । तर सोमबार राति गोली हानाहान भएको छ ।























