खेलकुद
म्याच फिक्सिङ प्रकरणः पूर्वकप्तान सागर थापासहित ६ जनाले पाए सफाई

काठमाडौं, असार २–
म्याच फिक्सिङको अभियोग लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई सर्वोच्च अदालतले सफाइ दिएको छ।
न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठ इजलाशले विशेष अदालतले २०७५ जेठमा सफाइ दिने फैसलालाई आज सदर गरेको हो।
ुसागर थापा लगायतलाई विशेष अदालतले सफाइ दिएको थियो। त्यसका विरूद्ध सरकारी वकिलले पुनरावेदन दिएको थियो ।
पूर्वकप्तन थापासहित विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई २०७२ कात्तिक २२ गते विशेषमा राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको थियो।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेको आरोपमा उनीहरुलाई २०७२ असोजमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो।
खेलाडीमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप थियो। उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो।























