देश/प्रदेश
क्वारेन्टिनमै महिलामाथि बलात्कारः तीन जना पक्राउ

कैलाली, जेठ ३२–
सरकारले विदेशबाट आएका नागरिकलाई राख्नका लागि सबै ठाउँमा क्वारेन्टिन बनाएको छ । यसले कारोनाबाट जोगाउनेमा विश्वास गरिएको छ । क्वारेन्टिनमा बस्नेहरु सबै सुरक्षित महसुस गर्नुपर्ने हो तर कैलालीमा भएको एउटा घटनाले प्रश्न उठाएको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेकी एक महिलामाथि नै बलात्कार भएको छ । प्रहरीले बलात्कारको आरोपमा तीनजना पक्राउ समेत गरेको छ । जेठ २० गते गौरीफन्टा नाकाबाट आएर शहिद स्मृति माध्यामिक विद्यालय लम्कीको क्वारेनटाइनमा बस्दै आएकी महिलाले शनिबार १२ बजेतिर क्वारेनटाइनमा स्वयंसेवकका रुपमा खटिएका तीनजनाले आफ्नो बलत्कार गरेको जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पीडित महिला लम्कीचुहा नगरपालिकाकि ३१ वर्षीया हुन् । तीनैजनालाई आरोपितलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले आज लम्की बजारमा विरोध प्रर्दशन गरेका छन् ।























