चितवन विशेष
कोरोना संक्रमितलाई डिस्चार्ज घोषणा गरिएको दुई दिनपछि बल्ल घर पठाईयो

चितवन, जेठ ३२–
चितवनमा डिस्चार्ज घोषणा गरिएको दुई दिनपछि बल्ल कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई घर पठाईएको छ ।
आज (आइतबार) चितवनको भरतपुर महानगरपालिका–६ निवासी ५२ वर्षीय पुरुष, देवचुली–१२ नवलपुरका ४९ वर्षीय पुरुष, त्रिवेणी–६ नवलपुरका ४५ वर्षीय पुरुष र देवचुली–१ नवलपुरका १९ वर्षीय युवक रहेका छन् ।
उनीहरुलाई भरतपुर अस्पतालले शुक्रबार नै विज्ञप्ती जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गाइडलाइन्स अनुसार परीक्षण बिनानै डिस्चार्ज गरिएको जनाएको थियो । तर दुईदिन सम्म स्थानीय तहका प्रतिनिधि लिन नआएपछि उनीहरु अस्पतालमै बसी रहेका थिए । अस्पतालले ६ जना डिस्चार्ज गरेका मध्ये आज चार जनालाई मात्रै घर पठाईएको भरतपुर अस्पतालका मेसु डा.श्रीराम तिवारीले जानकारी दिए । डा.तिवारीले स्थानीय तहको स्वास्थ्य शाखाले एम्बुलेन्स पठाएपछि उनीहरुलाई पठाईएको जानकारी दिए ।
यस्तै डिस्चार्ज घोषणा गरिएका भरतपुर–६ का ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला भने अझै पनि भरतपुर अस्पतालको आइसोलेसनमै रहेका छन् । उनीहरु अस्पतालमै बस्ने इच्छा गरेकाले अस्पतालमै राखिएको डा.तिवारीले बताए ।
चितवनमा हालसम्म ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।























