देश/प्रदेश
बाराका पाँच वर्षीय मृतक बालकमा कोरोना पुष्टि

बारा, जेठ ३१-
वीरगन्जस्थित हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बारा निजगढ नगरपालिका–६ योजनाटोलका पाँच वर्षीय बालकमा कोरोना पोजिटिभ देखिएको छ ।
नियोनिया भइ निजगढबाट थप उपचारका लागि वीरगन्ज पुर्याइएका बालकको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो । मृत्युपछि बालकको पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएको हो ।
शारीरिकरुपमा अशक्त बालक केही समययता बिरामी भएपछि परिवारले उनको उपचार गराउँदै आएको थियो । ज्वरो आउने क्रम नरोकिएपछि निजगढस्थित विभिन्न मेडिकल र सामुदायिक अस्पतालमा समेत उनको उपचार गराइएको थियो । निजगढमा उपचार सम्भव नभएपछि उनलाई शुक्रबार बिहान वीरगन्ज लगिएको थियो ।
वीरगन्जस्थित हेल्थ केयरमा उपचारका लागि भर्ना गर्ने क्रममा आरडिटी जाँच गर्दा पोजिटिभ देखिएका बालकको उपचारका क्रममा मृत्यु भएपछि थप पुष्टिका लागि पीसीआर जाँच गरिएको हो । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मृत्यु भएका बालकको स्वाब टेस्ट गर्दा कोरोना पुष्टि भएको बताए । प्रजिअ पण्डितले मृतक बालकको शव कार्यविधिअनुसार सतगतका लागि नेपाली सेनाको टोली परिचालन गरिएको जानकारी दिए । ‘सेनासहित सुरक्षाकर्मीको टोलीले बालकको शव सतगत गर्ने तयारी गरिरहेको छ’, प्रजिअ पण्डितले भने, ‘वीरगन्जबाट बालकको शव निजगढ लगेर स्थानीय खोलामा गाडिनेछ । ’मृत्यु भएका बालकमा कोरोना पोजिटिभ देखिएपछि उनलाई उपचार गरिएको निजगढका स्थानीय मेडिकल र सामुदायिक अस्पताललाई समेत सिल गरिएको छ ।






















