अन्तर्राष्ट्रिय
डब्ल्यूएचओलाई आरोप लगाउँदै ट्रम्पले सम्बन्ध तोडेको घोषणा गरे

एजेन्सी,जेठ १७-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओसँग अमेरिकाले सबै सम्बन्ध तोडेको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्न डब्ल्यूएचओ असफल भएको आरोप लगाउँदै ट्रम्पले यसअघि नै अमेरिकाले दिँदै आएको आर्थिक सहयोग बन्द गराएका थिए ।
शुक्रबार ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामीले डब्ल्यूएचओलाई ब्यापक सुधार गर्न अनुरोध गरेका थियौं । तर ऊ असफल भयो । आजबाट हामीले विश्व स्वास्थ्य संगठनसँगको नाता तोड्दैछौं ।’
संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था डब्ल्यूएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहयोग अब विश्व पब्लिक हेल्थमा लगाउने पनि ट्रम्पले बताए । अमेरिका डब्ल्यूएचओको सबैभन्दा ठूलो दाता हो । अमेरिकाले हरेक वर्ष डब्ल्यूएचओलाई ४५ करोड डलर आर्थिक सहयोग गर्छ । चीनबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वभर फैलिनु र जनधनको ठूलो क्षति हुनुमा डब्ल्यूएचओ नै जिम्मेवार रहेको आरोप ट्रम्पको छ ।
डब्ल्यूएचओले चीनको पक्षपोषण गरेको आरोप ट्रम्पले शुक्रबार पनि दोहो¥याए ।



























